काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकार पक्राउ तथा धरपकड गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले घटनाको गहिरो अनुसन्धान गरी दोषी पहिचान गर्न र यथाशीघ्र कारबाही गर्न सरकारलाई सचेत गराएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै पत्रकारमाथि भएको धरपकड गलत भएको उल्लेख गरे।
‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ उनले भने।
पत्रकार पक्राउको घटना सार्वजनिक हुनासाथ पार्टीले सामाजिक सञ्जाल र लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएको पनि खरेलले बताए।
‘पत्रकार पक्राउको विषय बाहिर आउनासाथ हामीले सामाजिक सञ्जाल र लेटरहेडमार्फत सरकारको ध्यानाकर्षण गराएका थियौँ। यो घटना गलत थियो र यस्तो दोहोरिनु हुँदैन,’ उनले भने।
सरकारी निकायबाट भएको घटनाको गम्भीर अध्ययन र छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने रास्वपाको धारणा रहेको उनले बताए।
पत्रकारको पक्राउ तथा धरपकडजस्ता घटना दोहोरिन नदिन र प्रेस स्वतन्त्रताको सम्मान सुनिश्चित गर्न पनि पार्टीले सरकारलाई सचेत गराएको खरेलको भनाइ छ।