काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोले च्यापेर गुल्मीमा ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु भएको हो ।
बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको पहिरोको ढुङ्गाले च्यापेर मृत्यु भएको बताइएको छ । ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।
सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।