काठमाडौँ । नेपालमा बीमा व्यवसाय विस्तारसँगै क्षेत्र पनि थपिँदै गएका छन् । शहरमा मात्रै केन्द्रीत हुने बीमा व्यवसाय अहिले दूरदराजमा पनि पुगेका छन् । अब खेलकुद क्षेत्रको बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् । प्रत्येकको ७ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । बिमाको अवधि १ सय ६३ दिन रहेको छ । उपचार गर्नु पर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउने छन् । नेपाल बिमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी ३ समूहमा वर्गीकरण गरी २०८० साल मंसिर १३ गते खेलकुद बिमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बिमा लेख कार्यान्वयन गर्ने महत्त्वपूर्ण घोषणा गरेका थिए ।