free website hit counter

पाख्रिबास नगरपालिकाले यसरी मार्दैछ फड्को

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । प्रदेश नम्बर एक अन्तर्गत धनकुटा जिल्लाको रमणीय स्थानमा रहेको पाख्रीबास नगरपालिकाको मुख्य लक्ष्य पर्यटन र कृषिलाई बनाएको छ । पाख्रिवास नगरपालिकाको पूर्वमा छथर जोरपाटी गाउपालिका र धनकुटा नगरपालिका, पश्चिममा भोजपुर जिल्ला, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा सहिदभुमी गाउपालिका पर्दछ । नगरपालिकाको मुकाम पाख्रीबास बजारको जालपादेबी मन्दिर छेउमा रहेको छ । २०७१ साल मंसिर १६ साबिकका पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगालाई समाबेस गरी पाख्रीबास नगरपालिका घोषणा भएको र मिति २०७३ साल फागुन २७ गते पुन चुङवाङ गाबिसलाई समाबेस गरी संघीय शासन ब्यवस्था बमोजिमको पाख्रीबास नगरपालिका घोषणा गरिएको थियो ।

वि.स.२०६८ को जनगणना अनुसार नगरपालिकाको जनसंख्या २२०७८ जना रहेको थियो । मिश्रित जातजातिको बसोबास रहेको सो नगरपालिकालाई कृषि र पर्यटनबाट समृद्ध नगरपालिका बनाउने अभियानअन्तर्गत सक्रियतापूर्वक कार्य भइरहेको नगरपालिकाका प्रमुख बृषबहादुर राईले बताउनुभयो ।

उहाँकाअनुसार, अहिले नगरभित्र भौतिक पूर्वाधारका कामहरूका अलावा कृषि, पर्यटन, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू घोषणा गरेर कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ । कतिपय कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने कतिपय हुने क्रममा रहेको प्रमुख राईले बताउनुभयो ।

\केन्द्रीय सरकारको सहयोग र नगरपालिकाको समन्वय र सहकार्यमा पाख्रिबास–मुगा–सुनबालुवा (भोजपुर वारी) १८ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको र केही समयभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ८५ करोड बजेट विनियोजन भएर करिब ५५ करोडमा टेण्डर बीट भएको उक्त सडक खण्ड पिच भएपछि सो सडक प्रयोग गरी सो भेगका नागरिकहरूलाई आवतजावतमा सहज हुनेछ । सोही सडक खण्ड पुरा भएपछि अरुण नदीमा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको र २६ महिनाको कार्यादेश बमोजिम काम शुरु भइसकेको र अबको एक वर्षभित्रै सो कार्य सम्पन्न हुने प्रमुख बृषबहादुर राईले बताउनुभयो ।

२२ करोडको टेण्डर प्रक्रियाबाट उक्त पक्की पुल निर्माण भइरहेको र सो पुल निर्माण भएपछि भोजपुरको दक्षिण भेगका नागरिक र खोटाङ जिल्लाका त्यस आसपासका बासिन्दाले लाभ उठाउन सक्ने उहाँको भनाई थियो । त्यस्तै शहरी विकास मन्त्रालयको सहयोगमा निर्माण भइरहेको मुगाखोला उत्तरपानी र वडा नं. १० चुङमाङको ७/७ किलोमिटर सडक खण्ड कालोपत्रे हुने क्रममा छ । यो कार्य समयमै सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गरिरहेको छ । नगरभित्रको ठूलो समस्याको रुपमा खानेपानी रहेको तथ्यलाई आत्मासाथ गरी नगरपालिकाले मुगाखोला राम्चे डाँडामा भुल्के लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

३० करोड लगानीमा सञ्चालन हुन लागेको उक्त आयोजनाका लागि नगरपालिकाले ५ प्रतिशत रकम विनियोजन गरेको छ भने बाँकी केन्द्रीय सरकारको सहयोग हो । उक्त टेण्डर प्रक्रिया फागुन महिनाभित्रै आह्वान गर्ने र यही आर्थिक वर्षबाटै काम शुरु गर्ने तथा दुई वर्षभित्र उक्त आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य नगरपालिकाले राखेको छ । बिजुलीको सहयोगमा सञ्चालित हुने यो लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पाख्रिबास नगरपाभित्रका ९० प्रतिशत खानेपानीको समस्या समाधान हुने र नागरिकहरूले सुविधा पाउने प्रमुख राइले बताउनुभयो ।

नगरपालिकामा स्थानीय जनप्रतिनिधि आएपछि नगरभित्रका समस्याहरू क्रमशः समाधान हुँदै गएको आभाष नगरवासीले गर्न थालेका छन् । सिञ्चाई, खानेपानी, सडक, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता समस्या नागरिकले व्यहोर्दै आएको तथ्यलाई आत्मसाथ गर्दै नगर नेतृत्वले ती समस्या समाधानका लागि आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्दै आएको छ । नगरवासीले आफ्नै सुविधासम्पन्न नगरपालिका भवनबाट सेवा सुविधा पाउन् भन्ने कुरालाई मध्यनजर गरेर नगरपालिकाले ४ करोड ५० लाख लागतमा आफ्नै सुविधासम्पन्न नगरभवन बनाउने कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । अहिलेसम्म भवन निर्माणको ७५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम वैशाख महिनाभित्रै पूरा गरी नयाँ वर्षमै नयाँ भवनमा नगरपालिका सार्ने लक्ष्यमा साथ काम भइरहेको नगरप्रमुख राईले बताउनुभयो ।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको नगरपालिकाले आफ्नो नगरभित्र भएका पर्यटकीय स्थलहरूको संरक्षण र सम्वद्र्धका लागि महत्वपूर्ण कार्यहरू गर्दै आएको छ । थप पर्यटकीय स्थलहरूको पहिचान गरेर पर्यटकीय नगरी बनाउने लक्ष्य लिएको नगर नेतृत्वले लक्ष्य प्राप्तिको दिशामा अग्रसर रहेको प्रमुख राईको भनाई थियो । मुगाको राम्चेमा भ्यु टावर निर्माण गरी पर्यटकहरूलाई आकर्षित गर्ने योजना नगरनेतृत्वले लिएको छ । त्यस कार्यको लागि २ करोडको लागतमा भ्युटावर निर्माणको कार्य अघि बढाइएकोमा ६० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि केही समयभित्रै पूरा हुने उहाँले दाबी गर्नुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि महत्वका साथ अगाडि बढाइएको छ । १० वटै वडाबाट स्वास्थ्य सेवा प्राप्त गर्न नगरवासीलाई सहज होस् भन्ने ध्येयले भएका स्वास्थ्य भवनहरूको स्तरोन्नति गर्ने, सुधारलगायतका कार्यहरूलाई प्राथमिकता दिएको नगरपालिकाले सुत्केरीसँग वडाध्यक्ष कर्णधार कार्यक्रमलाई २ वर्षदेखि निरन्तरता दिइरहेको छ । नगरभित्र सुत्केरी हुने महिलाको घरमै १५ दिनभित्रै सम्बन्धित वडाका जनप्रतिनिधिहरूको नेतृत्वमा स्वास्यकर्मी र वडा सचिव सम्मिलित टोली पुगेर सुत्केरी र बच्चाको स्वास्थ्य परीक्षण गर्नुको साथै बच्चाको जन्मदर्ता गरिदिने र पोषणसम्बन्धी खाद्य सामग्रीका साथमा एउटा भाले निःशुल्क उपलब्ध गराउने नगरको कार्यक्रमले गर्दा सुत्केरीहरू लाभान्वित हुन पुगेका छन् । यो कार्यक्रम पाख्रिबास नगरपालिकामा लोकप्रिय हुन पुगेको छ ।

त्यस्तै वृद्धभत्ता घरघरमै जनप्रतिनिधिमार्फत् उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिँदै आएको नगरपालिकाले कृषिमा युवा आकर्षण वृद्धि गर्नका लागि नेपाल बैंकसँगको सहकार्यमा बिना धितो ऋण उपलब्ध गराउने कार्यक्रमलाई अगाडि बढाउन खोजेको छ । नगरप्रमुख राईले नेपाल बैंकसँग केही दिनभित्रै सम्झौता गर्ने तयारी भइरहेको र सम्झौतापछि उक्त कार्यक्रम लागू हुने बताउँदै त्यसका लागि कार्यविधि निर्माण भइरहेको पनि बताउनुभयो ।

नगरभित्रका ३२ वटै सरकारी विद्यालयको भौतिक पूर्वाधारको सुधार र शिक्षामा गुणस्तर वृद्धिका लागि नगरपालिकाले विशेष ध्यान दिन थालेको छ । सोही कारण अहिले क्रमिक रुपमा सामुदायिक विद्यालयहरूको पठनपाठनमा सुधार हुँदै गएको र परिणाम सन्तोषजनक देखिन थालेको बताइन्छ । पाख्रिबास नगरपालिकाभित्र प्रदेश नं. १ कै पहिलो पाख्रिबास स्रोत व्यवस्थापन कलेज सञ्चालनमा ल्याइएको र अहिले पाँचौं सेमेस्टरको अध्ययन भइरहेको छ । त्यहाँ नगरभित्रका इच्छुक २ जनालाई नगरपालिकाको सिफारिशमा निःशुल्क अध्ययन गराइएको छ । यसले गर्दा नगरभित्रै कृषि अध्ययन गरेका जनशक्तिको वृद्धि हुने र कृषि क्षेत्रमा फड्को मार्ने नगरनेतृत्वले आशा लिएको छ ।

यसैगरी खेलकुदतर्फ नगरपालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । दोस्रो मेयरकप फुटबल प्रतियोगिता चाँडै नै हुन लागेको बताउनुभएका प्रमुख राईले खेलकुद क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन भइरहेको र भौतिक पूर्वाधार लगायतका क्षेत्रमा कार्य गर्न नगरपालिका तयाररहेको बताउनभुयो ।

नगरपालिकाको समृद्धिका लागि नगर नेतृत्वलाई कर्मचारी र नगवासीको विशेष साथ सहयोग रहँदै आएको र आगामी दिनमा साथ सहयोग अझै बढ्ने विश्वास नगरनेतृत्वले लिएको छ ।

(नगरप्रमुख राईसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचार