काठमाडौं । नेपाली काँग्रेसको महाविधेशन ०७७ फागुन ७ मा हुने भएको छ । पार्टीको शुक्रबार बसेको बैठकले चौधौं महाधिवेशन सो मितिमा गर्ने निर्णय गर्दै कार्यतालिका समेत सार्वजनिक गरेको छ । बैठकको एजेन्डा महाधिवेशनको कार्यतालिका बन्नुपर्ने माग गरेको असन्तुष्ट रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले बैठकको एजेन्डा बने पनि बैठकमा सहभागी भएनन् । उनीहरुको बहिष्कारका बाबजुद पार्टीले उक्त निर्णय गरेको हो । बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
कांग्रेसको वर्तमान कार्यसमितिको म्याद यही फागुन १९ मा सकिँदै थियो । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । बैठकले १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गरी माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ । कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछ ।
यस्तो छ काँग्रेसको कार्यतालिका
वडा अधिवेशन : २०७७ मंसिर ९ गते
गाउँ/नगरपालिका अधिवेशन : २०७७ मंसिर ११ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन : २०७७ मंसिर १५ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन : २०७७ मंसिर १७ गते
जिल्ला अधिवेशन : २०७७ मंसिर २५ गते
प्रदेश अधिवेशन : २०७७ पौष १५ गते
केन्द्रीय महाधिवेशन : २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं ।