काठमाडौं । नियामक निकाय बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेसँगै बीमा कम्पनीहरुबीच मर्जरको लहर चलेको छ भने केही कम्पनीले भने नत मर्जरको प्रयास गरेका छन् न पुँजी वृद्धिका अरु विकल्प नै खोजेका छन् । चुक्ता पुँजी वृद्धिका लागि बीमा समितिले दिएको समय सीमा अझै बाँकी छ । प्रक्रिया गर्दा गर्दै पनि समय पुगेन भने त्यसका लागि समितिले केही समय दिने बताए पनि अहिले केही काम नगर्ने र अन्त्यमा समय पुगेन भने कम्पनीलाई भने कारवाही गर्ने चेतावनी बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिनुभएको छ । पुँजी वृद्धिको प्रयास गर्नु पर्यो वा गरेको देखिनु पर्यो होइन भने मर्जरको प्रयासमा जानुपर्यो, अध्यक्ष सिलवालको भनाई छ । बीमा ऐनमा भएको कमी कमजोरीलाई हटाएर नै नयाँ बीमा विधेयक तयार पारिएको बताउँदै अध्यक्ष सिलवालले धेरै प्रावधानहरु ऐनमा नै भएकाले अब चलखेल गर्ने मौका कसैले नपाउने समितिका अध्यक्ष सिलवालको दाबी छ । नयाँ बीमा विधेयकमा धेरै कुरा समेटिएको दाबी गर्दै अध्यक्ष सिलवालले अहिलेको लागि यो पूर्ण भएको दाबी गर्नुभएको छ ।