काटमाडौं । नियामक निकायको निर्देशनपछि नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
नियामक निकाय बीमा समितिको निर्देशनपछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो ।
बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखाङ्कन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो ।