free website hit counter

पूँजीबजारको सुधारमा अर्थमन्त्रीको ध्यान

beemaadmin
२०८० फाल्गुन २८, सोमबार

काठमाण्डौ । अर्थ मन्त्रालयको नेतृत्वमा माओवादीले दाबी गरिहँदा बजारले भने एमालेका विष्णु पौडेललाई खोजिरहेको थियो । तर अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान आइपुगे । उनले आफूलाई अर्थ मन्त्रालयमा योग्य सावित गर्न अभियान थालेका छन् । अर्थमन्त्री पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन भन्दै अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडलाई आइतबार पत्र पठाउँदै ७ दिनभित्र सरोकारवालाहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न भनेको छ । अब तीनवटै निकायले सम्बद्ध अन्य पक्षसँग समेत छलफल गरी पूँजीबजारको समस्या, तिनका समाधानका उपाय र बजारको विस्तार तथा विकासका लागि चाल्नुपर्ने नीतिगत कदमहरुका विषयमा स्पष्ट कार्ययोजना पेश गर्नेछन् । तिनै कार्ययोजना र सुझावका आधारमा अर्थमन्त्रीले सेयर बजारको समस्या सम्बोधन गर्न चाहेको देखिएको छ । अर्थमन्त्रीमा नियुक्त भएको दिनदेखि नै पुनले पूँजीबजारलाई उच्च प्राथमिकतामा राखेर अभिव्यक्तिहरु दिइरहेका छन् । उनले लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिइरहेका छन् । उनका सकारात्मक अभिव्यक्ति र चालेका कदमहरुलाई बजारले पनि राम्रो रेसपोन्स गरिरहेको छ । पद बहाली गर्दै गर्दा पनि उनले ६० लाखभन्दा बढी मानिसहरुको सहभागिता रहेको पूँजीबजारको समस्या समाधान गरिने बताएका थिए । त्यसको भोलिपल्ट सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सेयर बजारको समस्या समाधान हुने भन्दै निर्धक्कसाथ लगानी बढाउन लगानीकर्तालाई आग्रह गरेका थिए । उनले सो क्रममा माइक्रोफाइनान्सको रेस्क्यू सरकारले नै गर्ने घोषणा पनि गरेका थिए । पुनले आइतबार बिहान नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल समेत गरेका थिए । सो क्रममा पूँजीबजारका लगानीकर्ताको मनोबल उकास्न नीतिगत लचकता आवश्यक रहेको भन्दै कुन–कुन कुरामा लचक नीति लिन सकिन्छ भन्ने विषयमा छलफल भएको अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार