free website hit counter

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो र १५७ रोपनी जग्गा जफतको माग

beemaadmin
२०८३ श्रावण १, शुक्रबार

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। विभागले २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै २४ दिन लामो अनुसन्धानपछि बिहीबार मुद्दा दायर गरेको हो।

विभागका अनुसार सम्पत्ति शुद्धीकरणलगायत विभिन्न कसुरमा यसअघि नै अभियोग खेपिरहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धका आधारमा पौडेलमाथि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा भट्टलाई गैरकानुनी लाभ पुर्‍याएर त्यसबाट आर्जित रकम विभिन्न कम्पनीमार्फत अप्रत्यक्ष रूपमा लगानी गरिएको आरोप पौडेलमाथि लगाइएको छ।

यसै मुद्दामा विभागले दीपक भट्ट, शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पनि पूरक अभियोग दर्ता गरेको छ। विभागले दीपक भट्टसँग ४७ करोड रुपैयाँ र शुभी अग्रवालसँग ३३ करोड रुपैयाँ बिगो दाबी गरेको छ।

भट्टसँग सम्बन्धित आठ वटा कम्पनीलाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। व्यवसायी सुलभ अग्रवाललाई पनि बिगो जफतसम्बन्धी प्रयोजनका लागि प्रतिवादी बनाइएको विभागले जनाएको छ।

विभागको पत्रका आधारमा नेपाल प्रहरीले असार ८ गते सुर्खेतबाट विष्णु पौडेललाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको थियो।

विशेष अदालत स्रोतका अनुसार करिब १५७ रोपनी जग्गा जफतको माग गरिएको छ। साथै विभिन्न कम्पनीमा रहेको करिब ४ लाख कित्ता सेयर लगानीको स्रोतबारे पनि विभागले प्रश्न उठाएको छ।

दीपक भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरणलगायतका विभिन्न कसुरमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

यसैबीच, पूर्वअर्थमन्त्री पौडेलसँग जोडिएका गाईपालक किसान शशी शर्मा पौडेललाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

सम्बन्धित समाचार