काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेमाथि फागुन २१ गते सम्पन्न चुनावमा ठुलो झड्का लागेको हो । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस र एमालेका सभापति र अध्यक्षसहित सबै पदाधिकारी पराजित भएका छन् । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता डा अमरेशकुमार सिंहसँग १२ हजार बढी मतान्तरले पराजित भएका छन् । उता एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साह बालेनसँग करिब ५० हजार मतान्तरले पराजित भएका छन् । त्यसैगरी कांग्रेका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित हुँदा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेलसमेत रास्वपासँगै पराजित भएका छन् । यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र एक्लो जित निकाल्ने शीर्ष नेता बनेका छन् । उनका सहयात्री एवम् नेकपाका सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत पराजित हुँदा काठमाडौं उपत्यकामा सधैभर आफ्नो जित निकाल्दै आएको भक्तपुर १ को नेपाल मजदुर पार्टीलेसमेत आफ्नो गढ छोड्नु परेको छ । लगातार संसदमा देखिँदै आएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रास्वपासँगै पराजित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रास्वपाले अहिलेसम्म ९९ सिटमा जित निकाल्दा नेपाली कांग्रेसले १४ क्षेत्रमा मात्र जित निकालेको छ । अझै रास्वपा २६ क्षेत्रमा अगाडि छ । तेस्रो स्थानमा रहेको एमालेले सात क्षेत्रमा विजयी हुँदा नेकपाले ६ क्षेत्रमा जित निकालेको छ । २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन्। प्राप्त मतपरिणाम अनुसार रास्वपाले आरामदायी बहुमत ल्याउने पक्का भएको छ ।