free website hit counter

प्रदेश २ को सत्ता समिकरण तत्काल परिवर्तन नहुने

beemaadmin
२०७६ पुष ९, बुधबार

काठमाडौं । संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा कार्यदल बनाउने प्रस्तावप्रति प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेपछि सरकारबाट बाहिरिएको समाजवादी नेपालको पदाधिकारी बैठक बुधबार ११ बजे राजधानीमा बस्दैछ ।

मंगलबार अपरान्ह सरकारबाट फिर्ता भएपछिको पछिल्लो अवस्थाको बारेमा छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाइएको पार्टी नेता डा. शिवजी यादवले बताउनुभयो । उहाँकाअनुसार, सरकारमा पार्टीको नेतृत्व गर्नुभएका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसमक्ष बालुवाटारमा र पार्टीबाट सहभागी भएका अर्का मन्त्री इस्तियाक राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार राजीनामा बुझाएका थिए ।

\राजीनामापछि सरकारलाई दिएको समर्थन जारी राख्ने या फिर्ता लिने भन्ने बारेमा राजनीतिक वृत्तमा चर्चा भइरहेको बेला पदाधिकारी बैठकले यसबारे ठोस निर्णय लिने छ । स्रोतकाअनुसार पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीको भावी कार्यनीति तयार गर्नका लागि चाँडै नै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय लिने बताइएको छ ।

केन्द्रीय सत्ताबाट बाहिरिएको समाजवादी नेपाल पछिल्लो प्रकरणपछि प्रदेश दुईमा पनि समिकरणमा परिवर्तन आउने अडकलबाजी राजनीतिक वृत्तमा चर्केर गएको छ । तर समाजवादीवादी पार्टीका डा. यादवले भने केन्द्रीय सत्ता समिकरणको असर प्रदेश २ मा तत्काल नपर्ने, समाजवादी र राजपाको गठबन्धन कायमै रहने दाबी गर्नुभयो । उता, राजपाका दुई नेता राजकिशोर यादव र शरदसिंह भण्डारीले पनि प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने हल्ला निराधार भएको बताइसकेका छन् ।

सम्बन्धित समाचार