free website hit counter

बालुवाटारमा डेरा खोज्दै प्रधानमन्त्री

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं । सचिवालय परिवर्तन गरेर मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भोलि नै आफ्नो सरकारी निवास छाडेर यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बस्ने क्वार्टरमा सर्ने भएका छन् । हाल प्रधानमन्त्री बसिरहेको निवासलाई दुई चरणमा भत्काएर नयाँ बनाउने शहरी विकास तथा भवन विभागको तयारी कार्यान्वयनमा आएसँगै प्रधानमन्त्रीले सरकारी निवास छाड्न लागेका हुन् । विभाग स्रोतकाअनुसार, पहिलो चरणमा भवनको आधा भाग भत्काइने भएपछि प्रधानमन्त्री बसिरहेको निवासमा हुने वातावरणीय र ध्वनी प्रदूषणका कारण विज्ञहरुकोे रायअनुसार प्रधानमन्त्रीलाई स्थानान्तरण गर्न लागिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना यौन दुव्र्यवहार प्रकरणमा जेल गएका पूर्व सभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि करिब दुई हप्ता अगाडि सरिसकेका छन् । तिमिल्सिना बसेको बालुवाटारकै सरकारी निवासमा प्रधानमन्त्री स्थानान्तरण हुने भएपछि भवन विभागले रंगरोगन र मर्मत सम्हार तथा साजसज्जाको कामलाई युद्धस्तरमा अघि बढाएको छ । सम्भवतः एक/दुई दिनमै उपयुक्त साइत हेरेर निवास सारिने स्रोतले बताएको छ । सभामुख क्वार्टर राष्ट्रिय सभाका अध्यक्षले प्रयोग गरेपछि नयाँ बन्ने सभामुखलाई कहाँ राख्ने भन्ने चिन्तामा भवन विभाग रहेको छ ।

यसअघि राष्ट्रिय सभाका अध्यक्षलाई पुल्तोकस्थित मन्त्री क्वार्टरमा रहेको नयाँ भवनमा राख्ने तयारी भए पनि प्रोटोकलको समस्या, सुरक्षा र सवारी साधन पार्किङ लगायतका कारण देखाउँदै मुख्यसचिवका लागि बनाइएको क्वार्टरमा राष्ट्रिय सभाका अध्यक्षलाई राखिएको थियो । मुख्यसचिवलाई भने निजामती श्रीमती संघको लागि भनेर बालुवाटारमै बनाइएको भवनमा राख्ने सम्भावना बढेर गएको छ । उक्त भवन तयारी अवस्थामा रहेको भए पनि उपयुक्त नभएको र सानो भएको भन्दै वर्तमान मुख्यसचिवले प्रयोग गर्न नमानेको विभाग स्रोतले बताएको छ । उक्त भवन पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईलाई देखाइएको भए पनि उनले पनि उपयुक्त नभएको भन्दै प्रयोग गर्न मानेका थिएनन् । त्यसपछि विभागले पर्यटनमन्त्रीका लागि उपराष्ट्रपति नन्दकिशोर पुनले प्रयोग गरेको लैनचौरको भवनमा व्यवस्थापन गरेको थियो ।

सम्बन्धित समाचार

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार