free website hit counter

प्रधानमन्त्री राहत कोषमा १ अर्ब जम्मा, तीनदिन राष्ट्रिय शोकको घोषणा

beemaadmin
२०८१ आश्विन १५, मंगलवार

काठमाण्डौ । अमेरिकाबाट स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक गरी विभिन्न निर्णय गराएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोपछिको अवस्था व्यवस्थापन, राहात, उद्धार तथा पुननिर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सो कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा सेवा सुविधा बराबरको रकम जम्मा गर्ने समेत निर्णय भएको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि शीघ्र पहल गर्ने, विपतमा हुनसक्ने महंगी तथा कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिने लगायतका विषयमा समेत महत्वपूर्ण निर्णय गरेको छ । यसैगरी, अबिरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु भएकाको सम्झनामा सरकारले राष्ट्रिय शोक मनाउने घोषणा समेत गरेको छ । सञ्चारमन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै सरकारी तथा अर्धसरकारी कार्यालयहरुमा आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । यसैबीच, सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहात समेत उपलब्ध गराइने निर्णय भएको छ । यस्तै, प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ ।

सम्बन्धित समाचार