free website hit counter

प्रधानमन्त्री र मन्त्रीको खटपटले उदयपुर सिमेन्ट आठ महिनादेखि नेतृत्वविहीन

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकका लागि तारानाथ पौडेल (सुनसरी), रामाधीन यादव (सिराहा), रामबाबु साह (सिराहा) लाई मिति २०७६ वैशाख ८ गते नै तत्कालिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रस्ताव लगेको भए पनि प्रधानमन्त्री र मन्त्रीबीचको खटपटले गर्दा सो प्रस्ताव अझै निर्णयमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको रुचि अनुसारका व्यक्तिको सिफारिश नगरिएको हुँदा उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्ति सम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा थन्किएको मन्त्रिपरिषद् सचिवालय स्रोतले बतायो । गत वैशाखमै लगिएको उक्त प्रस्तावमा निर्णय गराउन न त मन्त्रिले अग्रसरता देखाए नत प्रधानमन्त्रीले नै उनको कार्यकालमा फिर्ता पठाउन निर्देशन नै दिन सके ।

मन्त्रालय स्रोतकाअनुसार, मन्त्री र प्रधानमन्त्रीबीचको खटपटले गर्दा देशकै ठूलो सरकारी सिमेन्ट उद्योगले नेतृत्व पाउन सकेको छैन । निमित्तका भरमा उद्योग सञ्चालन भइरहेको छ । उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उदयपुर सिमेन्ट कारखाना महाप्रबन्धक विहीन बन्न पुगेको थियो ।

पौडेलको निगममा नियुक्ति पछि रिक्त महाप्रबन्धकका लागि मन्त्रालयले सार्वजनिक रुपमा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतिस्पर्धाबाट मन्त्रालयले तीन जनाको नाम छनोट गरी मन्त्रि हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको भए पनि आठ महिनादेखि उक्त प्रस्ताव मन्त्रिपरिषद्मै थन्किएको हो ।

सम्बन्धित समाचार