काठमाडौं । प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंकलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार समेत शुरु गरिसकेको छ । प्राइम कमर्सियल बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी बृद्धि गर्ने योजना अन्तर्गत कैलाश विकास बैंकलाई प्राप्ति गरेको हो । प्राप्ति पश्चात प्राइम बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको छ ।
दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बिहीबार मूर्त रुप दिएको हो । प्राइम कमर्शियल बैंकले यस अघि बन्काई विकास बैंक, ललितपुर फाइनान्स, विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभिसकेको छ । ओम बैंकसँग पनि मर्जरका लागि सहमति भएर पनि भाँडिएको थियो । कैलाश विकास बैंकमा १०० कित्ता शेयर हुनेलाई प्राइम कमर्शियल बैंकको ९४ कित्ता शेयर दिनेगरी प्राइमले कैलाशलाई आफूमा गाभेको हो ।