काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्ति सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ। ओझाको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले त्यस्तो आदेश दिएको हो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएकोमा सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो। अन्ततः मन्त्रिपरिषद्ले ओझालाई अध्यक्ष नियुक्त गरेको हो। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट रहेका छन् र देउवाको प्रभावका कारण उनी नियुक्त भएका भन्ने आरोप खेपिरहेका छन् ।