नायक सैफ अली खानसँग विवाह गरेकी नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । सोसल मिडिया यसअघिदेखिनै यो समाचार आइरहेको बेला अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं । सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । स्मरण रहोस्, करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् । सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् । बुधबार सैफकी जेठी छोरी सारा अली खानको जन्मदिन हो । यो मौकामा उनले करिना कपुर दोस्रो पटक गर्भवती भएको खबरबारे जानकारी दिएका थिए । सोसल मिडियाको कुरा गर्ने हो भने करिना इन्स्टाग्राम प्रयोगकर्ता हुन् । सैफ कुनै पनि सोसल मिडिया पोर्टलमा छैनन् । प्रशंसकले सोसल मिडियामार्फत् नै करिना र सैफलाई बधाई दिन सुरु गरिसकेका छन् ।