काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा बीमालाई निकै प्राथमिता दिएको छ । सात लाख बृद्धबद्धालाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निुशल्क उपलब्ध गराउने भएको छ । हालसम्म तीन लाख बृद्धबृद्धाहरुले निशुल्क स्वास्थ्य बीमाको सुविधा लिएकोमा आगामी आर्थिक वर्ष त्यसलाई बढाएर ७ लाख पुर्याउने योजना सरकारले अघि सारेको छ । अर्थमन्त्री डा. खतिवडाले आगामी वर्ष थप चार लाखको निशुल्क स्वास्थ्य बीमा गरी सात लाख पुर्याउने जनाएका हुन् ।यस्तै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाख रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । अर्थमन्त्री डा. खतिवडाले तीन वर्षभित्रमा सबै नागरिकमा स्वास्थ्य बीमा पुग्ने गरी बजेट ल्याइएको जानकारी गराए । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा ५ अर्ब रुपैयाँ छुट्टाइएको थियो । आगामी आर्थिक वर्षको बजेटले लघु र कृषि बीमालाई बिशेष जोड दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले लघु र कृषि बीमालाई बिशेष जोड दिएका छन् । सरकारले आगामी आर्थिक वर्षमा घुम्ती बीमा अभियान संचालन गरी लघु र कृषि बीमा मार्फत बीमाको पहुँच विस्तार गर्ने घोषणा गरेको हो । सरकारले आगामी आर्थिक वर्ष लघु बीमामा लाग्ने भ्याट छुट दिने घोषण गरेको छ । बजेटमार्फत लघुबीमालाई मूल्य अभिबृद्धि कर (भ्याट) रहित बनाउने घोषणा गरेको हो । यस्तै बाली बीमाको बीमाशुल्क पनि बाली पाकेपछि भुक्तानी गर्ने व्यवस्था गरेको छ । हाल कृषि बीमामा कुल बीमाशुल्कको ७५ प्रतिशत अनुदान समेत प्रदान गर्दै आईरहेको छ । किसानलाई बाली बीमा थप सुविधा प्रदान गरेपछि कृषि बीमाको पहुँच विस्तार हुने सरकारको अपेक्षा छ । आगामी आर्थिक वर्षमा जीवन बीमालाई उच्च प्राथमिकतामा राखेको छ । हाल २७ प्रतिशत (म्यादी बीमा सहित) मा रहेको बीमाको पहुँच कुल जनसंख्याको ४० प्रतिशतमा पुर्याउने घोषणा गरेको हो ।
यसैगरी सरकारले कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । सामुहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो । व्यक्तिगत कोरोना बीमामा यो छुटको व्यवस्था गरिएको छैन् । सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३०० रुपैयाँमा र ५० हजार रुपैयाँ बीमांकको बीमा १५० रुपैयाँमा गर्न सकिनेछ । सबै राष्ट्र सेवक कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने पनि सरकारले घोषण गरेको छ । राष्ट्र सेवकको रुपमा हाल कार्यरत रहेका अस्थायी, करार सहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ । यसबाट स्थायी रुपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख कर्मचारीहरुले राहत पाउनेछन् ।