काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ । बढेको मूल्यसूची बुधबार मध्यरातिदेखि नै लागू हुने बताइएको छ । समायोजित नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १६९ रुपैयाँ र तेश्रो वर्गमा १७० रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोश्रो वर्गमा १५७ र तेश्रोमा १५८ रुपैयाँ कायम भएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।