काठमाडौं । चाइना फाउन्डेसनको सहयोगार्थ सफा सुनौलो नेपाल काठमाडौंलाई प्राप्त भएको स्टेशनरी तथा स्कुल ब्यागहरु विपन्न विद्यार्थीहरुलाई वितरण गरिएको छ । आइतबार बर्दियामा आयोजित एक कार्यक्रममा काँग्रेसका युवा नेता, महासमिति सदस्य एवं तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त सहयोग सामग्रीहरु विद्यार्थीलाई वितरण गरिएको हो ।
आइतबार सामग्रीहरु वितरण गरिएका विद्यालयहरुमा श्री जनजागृति मावि सोमलपुर, श्री सरस्वती आधारभूत विद्यालय, बर्दिया रहेका छन् । आधारभूत तहमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई संस्थाबाट प्राप्त सहयोग सामग्री प्रमुख अतिथि तिमिल्सिनाले ती स्कुलका विद्यार्थीहरुलाई वितरण गर्नुभएको थियो । त्यसमा जनजागृतिका १ सय १५ र सरस्वती आधारभूतका १ सय ८ विद्यार्थीले सहयोग सामग्री प्राप्त गरेका छन् ।
सोमबार नवज्योति प्रावि गेरुवा गाउँपालिका ५ का ७६ जना, गेरुवाकै पशुपति उच्चमाविका १ सय ४९ जना र राजापुर बर्दियामा रहेको अमर सहिद दशरथ चन्द्रमाविका २ सय २५ जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गर्ने कार्यक्रम राखिएको छ ।
विगत लामो समयदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील उक्त संस्थाका अध्यक्ष राकेश हमालले विपन्न विद्यार्थीहरुलाई सहयोग सामग्री वितरण गर्न पाएकोमा खुशी प्रकट गर्नुभएको थियो भने प्रमुख अतिथि तिमिल्सिनाले विपन्न विद्यार्थीहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्न पाएकोमा गौरवको महसुस भएको र यस्ता सहयोग सामाजिक संघसंस्थाहरुले गर्ने जाने हो भने विद्यालयमा विपन्न समुदायका विद्यार्थीेहरुले सहज रुपमा पठन पाठन गर्न पाउने बताउनुभएको थियो । उहाँले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि तीनै तहको सरकारको सहयोग र सामाजिक संघसंस्थाहरुको क्रियाशीलता महत्वपूर्ण हुने बताउनुभएको थियो ।