free website hit counter

बलेफीको शान : शिक्षामा नयाँपन, भौतिक पूर्वाधारमा छलाङ

beemaadmin
२०७६ माघ ४, शनिबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा रहेको बलेफी गाउँपालिकाको कुल क्षेत्रफल ६१.८७ वर्ग किमी रहेको छ । स्थानीय तहको पुनसंरचना हुँदा साविकको ४ वटा गाविस माङ्खा, फूल्पिङडाँडा, फूल्पिङकोट र जलविरे गाविसहरू मिलाएर बलेफी गाउँपालिका बनाइएको हो । यहाँ हिन्दु, बौद्ध र क्रिचियनहरूको बसोबास रहेको छ, जसले सार्वलौकिक सँस्कृती झल्काउँछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् । यो गाउँपालिकाको जनसंख्या विस २०६८ सालको राष्ट्रिय जनगणना १८ हजार ९ सय ९ रहेको छ ।

पुर्वमा बाह्रविसे नगरपालिका, पश्चीममा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेको यो गाउँपालिकाले भौतिक संरचना र पूर्वाधार निर्माणको कार्यलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख केदार क्षेत्रीले बताउनुभयो । गाउँपालिकाका सबै प्राय सबै वडामा चार पाँच महिनाभित्रै स्वास्थ्य भवनको भौतिक पूर्वाधार निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको र ती संरचनाहरू तयार भएपछि स्थानीय जनताले स्वास्थ्य सेवा सहज रुपमा पाउने अध्यक्ष क्षेत्रीले दाबी गर्नु भयो ।

प्रतिवडा कम्तिमा पनि एउटा सडक बाह्रै महिना यातायात सञ्चालन हुने गरी निर्माणलाई प्राथमिकता दिएका कारण सो कार्य पूरा भइसकेको छ । यसले गर्दा बाह्रै महिना एक वडाबाट अर्को वडा हुँदै अन्य ठाउँमा जानका लागि स्थानीय बासिन्दालाई सहज भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अन्य स्थानीय तहभन्दा यो गाउँपालिकाले भिन्न कार्यक्रम सञ्चालन गरेर लोकप्रियता कमाएको छ । गाउँपालिकाभित्रका सबै २७ वटै सरकारी विद्यालयहरूमा टकिङ टिचर अडियो भिडियो पढाई शुरु गरिएको छ । एक वर्षदेखि सञ्चालित उक्त कार्यक्रम लागू भएपछि विद्यार्थीको पठनपाठनमा गुणस्तर वृद्धि भएको परिणाम देखिइसकेको छ ।

शिक्षण सिकाईमा फरक पर्न गएका कारण परिणाममा पनि त्यसको असर देखिन थालेको छ । यो विधिलाई अन्य स्थानीय तहले पनि अनुशरण गर्नका लागि अध्ययन थालिसकेका छन् । यो प्रविधिबाट करिब ७ सय विद्यार्थीहरू लाभान्वित हुन पुगेको तथ्यांकले देखाउँछ । दुई वटा विद्यालयबाहेक अन्य सबै सरकारी विद्यालयहरूको सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेर शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको यस गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाका ४ वटा वडाका सडकमा सिधै काठमाडौंसम्मको सार्वजनिक बस सेवा सञ्चालन गरिसकेको गाउँपालिकाले सार्वजनिक यातायातको भरपर्दो व्यवस्थालाई सुरक्षित बनाउँदै लगेको छ ।

पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय पर्यटकीय स्थलहरू मठ मन्दिरलगायतको भौतिक संरचना सुदृढीकरणका लागि बलेफी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको करिब ५ करोड लगानीमा गाउँपालिकाको बलेफी महादेवस्थानलाई महत्वका साथ विकास गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । सो स्थानमा कपिलेश्वर महादेवको मन्दिर प्रतिस्थापन गर्ने कार्य अघि बढाइएको छ । त्यसले धार्मिम पर्यटनमार्फत् गाउँपालिकाको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गाउँपालिका प्रमुख क्षेत्रले विश्वास रहेको छ ।

गाउँपालिकाका शिक्षित र योग्य नागरिकलाई नेपाल सरकारका विभिन्न समूहमा रोजगारीका लागि योग्य बनाउनका लागि गाउँपालिकाकै पहलमा तयारी कक्षा सञ्चालन कार्यलाई अगाडि बढाइएको छ । जसले लोकसेवा, शिक्षा सेवा, प्रहरी सेवालगायतका क्षेत्रमा तयारी गरेका योग्य नागरिकहरूलाई निःशुल्क तयारी कक्षा लिन मद्दत पुगेको प्रमुख क्षेत्रीले बनाउनुभयो । गाउँपालिकाको मुकाममै दिइने यस्तो कक्षा गत वर्ष शिक्षा सेवा आयोगको तयारी कक्षामा भाग लिएका २३ जनाले उत्तीर्ण गरी रोजगारीमा गएका थिए । सो कार्यबाट उत्साहित भएको गाउँपालिकाले अहिले लोकसेवा लगायतका अन्य विधागत क्षेत्रमा तयारी कक्षा सञ्चालन गर्ने योजनाका साथ कार्य अगाडि बढाएको छ ।

खानेपानी, सिञ्चाई जस्ता स्थानीयवासीको दैनिक समस्याहरूको समाधानका लागि गाउँपालिकाले विशेष ध्यान दिएर कार्ययोजनाका साथ कार्य अगाडि बढाइरहेको उहाँको भनाई थियो । उहाँका अनुसार गाउँपालिकाको प्रमुख चुनौतीका रुपमा खानेपानी, सिञ्चाई, सडक नै रहेका छन् । गाउँपालिकाभित्र धेरै सडक खनिएका छन् जसको गुणस्तर सुधार गर्नु गाउँपालिकाका लागि चुनौतीको विषय बनेको छ । काठमाडौंबाट ६८ किमीको दूरीमा रहेर पनि उक्त गाउँपालिकाका नागरिक सरकारी सेवामा अत्यन्तै कम रहेको, अन्य रोजगारीका क्षेत्रमा पनि कम रहेका, उद्योगधन्दा लगायतका रोजगारीका क्षेत्र विस्तार हुन नसक्दा स्थानीय नागरिकलाई रोजगारी दिन दिन नसकिएको, चेतनाको स्तर वृद्धि गर्न चुनौती रहेको लगायत बसाई सराईको समस्या प्रमुख चुनौतीका रुपमा देख्नुहुन्छ गाउँपालिका अध्यक्ष क्षेत्री ।

आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको समग्र विकासका लागि अन्य निर्वाचित जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय नागरिकको साथ सहयोगबाट अगाडि बढिरहेको र आगामी दिनमा त्यसरी नै अगाडि बढ्ने उहाँको भनाई । जनप्रतिनिधि–जनप्रतिनिधिबीचको सम्बन्ध, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध बलेफी गाउँपालिकामा अत्यन्तै सुमधुर रहेको उहाँको भनाई छ ।

(बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचार