काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आज माघ २७ गतेबाट आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्नेछ।
कुल निष्कासित कित्तामध्ये वातावरण मूल्यांकन प्रतिवेदनबमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएबराबरको सेयरसमेत सायोजन गरी दोस्रो चरणमा सर्वसाधारण (सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि) मा आईपीओ जारी गरिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा)बाट आवेदन दिन सकिनेछ। यो आईपीओका निष्कासन बन्द छिटोमा फागुन १२ गते बन्द हुनेछ। उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरकै आईपीओ जारी गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो।