free website hit counter

बाढी–पहिरो प्रभावित ४ सय परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत

beemaadmin
२०८३ आश्विन २, शुक्रबार

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित करिब ४ सय परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।

दिल्ली महल समूह, सीताराम गोलोक मिल्क्स प्रालि, आर्य इन्टरनेसनल प्रालि र पूजा सुर्ती उद्योगको संयुक्त पहलमा राहत सामग्री उपलब्ध गराइएको हो।

संकलित राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको छ। उक्त सामग्री नुवाकोटको विदुर नगरपालिका–५ पिपलटार, विदुर नगरपालिका–१, त्रिशूली बजार तथा आसपासका क्षेत्रमा रहेका बाढी–पहिरो प्रभावित परिवारलाई वितरण गरिने जनाइएको छ। साथै, रसुवाका प्रभावित नागरिकलाई समेत राहत सामग्री उपलब्ध गराइनेछ।

विपद्का कारण प्रभावित परिवारको दैनिक जीवनयापनमा परेको कठिनाइलाई केही सहज बनाउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको सम्बन्धित संस्थाहरूले जनाएका छन्।

राहत सामग्री पठाउने कार्यक्रममा दिल्ली महल समूह, सीताराम गोलोक मिल्क्स प्रालि, आर्य इन्टरनेसनल प्रालि तथा पूजा सुर्ती उद्योगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विपद्को समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने भएकाले आगामी दिनमा पनि मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता सम्बन्धित संस्थाहरूले जनाएका छन्।

सम्बन्धित समाचार