free website hit counter

३४ सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री बालेन आज भारत जाँदै

beemaadmin
२०८३ मंसिर ७, आईतवार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज (आइतबार) भारत प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते (नोभेम्बर २२ र २३) भारत भ्रमणमा जान लागेका हुन्।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उनी आज मध्याह्न १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्।

Advertisement
Advertisement

भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्ने प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले स्वागतको तयारीबारे जानकारी दिएको छ।

Advertisement
Advertisement

३४ सदस्यीय सरकारी टोली, निजी क्षेत्रका ५२ जना पनि सहभागी

प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदै छ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा परराष्ट्र सचिव अमृत राईसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्।

यसका अतिरिक्त निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी तथा सञ्चारकर्मी पनि आफ्नै खर्चमा भ्रमण टोलीमा सहभागी हुनेछन्।

यस्तो छ दुईदिने भ्रमण कार्यतालिका

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय छलफल तथा विभिन्न समझदारीपत्र आदानप्रदानका कार्यक्रम तय भएका छन्।

आइतबार नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। पहिलो दिन यसबाहेक अन्य औपचारिक कार्यक्रम राखिएको छैन।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको विशेष गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर उनले माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र साझा चासोका विषयमा छलफल हुनेछ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि दिउँसो १२ः२५ बजे विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम छ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत वार्ताका विषय र उपलब्धिबारे जानकारी दिनेछन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।

यसैगरी, सोमबार अपराह्न ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन्। सबै औपचारिक कार्यक्रम सम्पन्न गरी उनी सोमबार साँझ ४ः५० बजे भारतीय समयअनुसार नयाँदिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ।

के–के छन् भ्रमणका मुख्य एजेन्डा ?

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा छलफल र सहकार्य अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धको समग्र समीक्षा हुनुका साथै हवाई प्रवेश मार्ग, ऊर्जा व्यापार, पूर्वाधार विकास, कनेक्टिभिटी, सूचना प्रविधि तथा बन्दरगाह सहकार्यका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

विशेषगरी भैरहवा, जनकपुर र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा छलफल हुने अपेक्षा छ। त्यस्तै, अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास, ऊर्जा व्यापार विस्तार तथा अन्य पूर्वाधारसम्बन्धी सहकार्यका विषय पनि भ्रमणका महत्वपूर्ण एजेन्डाका रूपमा रहेका छन्।

प्रधानमन्त्री शाहको यस भ्रमणबाट नेपाल–भारतबीच आर्थिक, व्यापारिक, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा नयाँ सहमति र सहकार्यका सम्भावना अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार