काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीका विषयमा चौतर्फी रुपमा उठेका प्रश्न र यसले समग्र बीमा व्यवसायमा पर्नसक्ने असर बारे निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघमा छलफल भएको छ । कोरोना बीमा पोलिसीका विषयमा उत्पन्न विवादको विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।
संघका अध्यक्ष दीपप्रकाश पाण्डेको अध्यक्षतामा बसेको पूर्ण बैठकमा कोरोना बीमा सम्बन्धी लामो छलफल भएको थियो । सो छलफलमा कोरोना बीमा पोलिसीमाथि उत्पन्न अन्योलता हटाउने, कोरोना बीमाको दावी भुक्तानी सरल बनाएर बीमाप्रति जनताको विश्वास टुट्न नदिने, दावी भुक्तानी छिटो र छरितो बनाउन सबै सदस्यहरु सहमत भएका छन् ।
बीमा समितिको कार्यदलको बैठकमा सहभागी हुने सदस्यले आफ्ना धारणाहरु राख्नेछन् । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्ने सम्बन्धमा गठन गरेको कार्यदलमा नेपाल बीमक संघका एक जना प्रतिनिधि सहभागी छन् ।