free website hit counter

बीमाबारे जान्नै पर्ने तथ्यहरु

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

जोखिमको हस्तान्तरण गरिने बीमा व्यवसाय अभिकर्तामा निर्भर हुने व्यवसाय हो । नेपालमा बीमा व्यवसाय विस्तारको क्रममा छ । नेपालमा बीमा व्यवसाय शुरु भएको सात दशक कटिसक्दा पनि अझै २२ प्रतिशत मानिस मात्रै बीमाको पहुँचभित्र परेका छन् । पछिल्ला वर्षहरुमा बीमा व्यवसायले निकै राम्रो फड्को मार्दै गएको छ । मुलुकको आर्थिक क्षेत्रको सुरक्षामा यसको ठूलो योगदान रहेको छ । व्यक्ति, परिवार, उद्योग–धन्दा, कलकारखाना लगायत सबै सम्पत्तिको जोखिम बहन गर्ने माध्यमको रुपमा रहेको बीमा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहन्छ । बीमा व्यवसायसँग सरोकार राख्ने केही विषयलाई यहाँ प्रस्तुत गरिएको छ ।

० बीमा अभिकर्ता भनेको के हो ?
– कुनै पनि बीमकको तलबी कर्मचारी नभई कमिसनको आधारमा कुनै पनि बीमकमातहत रहेर काम गर्ने व्यक्तिलाई बीमा अभिकार्ता भनिन्छ । उक्त व्यक्तिले बीमा समितिबाट अभिकर्ताको इजाजत प्राप्त गरेको हुनुपर्दछ ।

० बीमा अभिकर्ताको योग्यता कति हुनुपर्दछ ?
– बीमा समितिले तोकेको समिति वा बीमकमार्फत तालिम प्राप्त व्यक्ति कम्तीमा एसएलसी वा सोसरह मान्यता प्राप्त शिक्षण संस्थाको प्रमाणपत्र प्राप्त व्यक्ति हुनुपर्दछ ।

० अभिकर्ताले तालिम लिई इजाजत प्राप्त गर्नलाई के–के कागजात चाहिन्छ ?
१) अभिकर्ता तालिमको प्रमाणपत्र बीमक वा बीमा समितिले दिएको र प्रमाणित प्रतिलिपि ।
२) एसएलसी वा सोसरह पास गरेको प्रमाणपत्र र लब्धाङ्क पत्रको प्रमाणित प्रतिलिपि ।
३) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
४) पासपोर्ट साइजको फोटो पाँच प्रति र अटो साइजको फोटो एक प्रति ।
५) बीमा अभिकर्ता हुन पाउने अनुरोध निवेदन ।
६) बीमा अभिकर्ता हुन चाहनेको व्यक्तिगत विवरण ।
७) कुनै पनि बीमकको तलबी कर्मचारी नभएको र बीमा अभिकर्ता हुन पाउने कानुनी अधिकार भएको विवरण । उक्त विवरण निवेदन पत्रमा सोधिएको हुन्छ, सत्यतथ्य लेख्नुपर्ने छ ।

० बीमा सर्भेयर भनेको के हो ?
– निर्जीवन बीमाअन्तर्गत गरिने कुनै पनि प्रकारको क्षतिको मूल्याङ्कन गर्ने व्यक्तिलाई सर्भेयर भनिन्छ । त्यसै मूल्याङ्कनको आधारमा बीमकले क्षतिको पूर्ति गर्दछ ।

० कति योग्यता भएको व्यक्ति बीमा सर्भेयर हुन सक्दछ ?
– बीमा ऐन र बीमा समितिको सम्पूर्ण प्रक्रिया पूरा भएको हुनुपर्दछ । त्यसअन्तर्गत निम्न लिखित योग्यतामा कम्तीमा एउटा श्रेणीको कार्यक्षेत्र पूरा गरेको हुनुपर्ने छ ।
१) चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको ।
२) कम्तीमा इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
३) नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट बीमा विषयमा स्नातक उत्तीर्ण गरेको ।
४) कुनै पनि बीमा कम्पनीमा १० वर्षसम्मको अधिकृतस्तरको पदमा रही काम गरेको ।

० बीमाको दाबी भुक्तानीसम्बन्धी बीमक र बीमितबीच विवाद भएमा कहाँ उजुरी गर्ने ?
– सर्वप्रथम बीमा समितिमा उजुरी गर्ने, त्यसबाट निकास ननिस्किए अदालतमा उजुरी गर्ने ।

० बीमा दलाल भन्नाले के बुझिन्छ ?
– बीमा दलाल भन्नाले बीमा र पुनर्बीमा कम्पनीबीच कमिसनको आधारमा मध्यस्थाकर्ता गर्ने बुझिन्छ ।

० बीमा दलालले कमिसनबाहेक के फाइदा लिन्छन् ?
– बीमा दलालले बीमकहरूबीच मध्यस्थता गर्दा अपवादबाहेक नाफाको पनि कमिसन लिने फाइदा हुन्छ ।

० बीमाङ्की भनेको के हो ?
– बीमासम्बन्धीको दायित्व र सम्पत्तिको मूल्याङ्कन गर्ने बीमाङ्कीय विषयमा स्नातक पास गरेको व्यक्ति वा संस्थालाई बीमाङ्की भनिन्छ ।

० पुनर्बीमा भनेको के हो ?
– बीमाको पनि अर्को कम्पनीलाई निश्चित बीमाङ्कको बीमा दायित्व हस्तान्तारण गर्ने प्रक्रिया पुनर्बीमा हो । यसको कारणले बीमाको दायित्वको प्रतिशतको आधारले गरिन्छ ।

० जीवन बीमा कति प्रकारमा वर्गीकरण गरिएको छ ?
– खास विधिवत्रूपमा जीवन बीमा तीन प्रकारका हुन्छन् तर सावधिक जीवन बीमालाई विस्तृतीकारण गरी प्रतिस्पर्धामत्क रूपमा नयाँ बीमा योजनाहरू बीमकले ल्याएका छन्, जसमा धन फिर्ता, वर्षा, शिक्षा, पेन्सन, एउटा बीमा लेख लिँदा अर्को बीमा लेख उपहार, जीवन किरण, जीवन आनन्द, गृह लक्ष्मी, बाल सौगात आदि यसैअन्तर्गत पर्दछन् । जीवन बीमाको निम्न प्रकारका जीवन बीमा उपलब्ध गरिन्छ–
१) सावधिक जीवन बीमा ।
२) आजीवन जीवन बीमा ।
३) म्यादी जीवन बीमा ।

निर्जीवन बीमा कति प्रकारका हुन्छन् ?
निर्जीवन बीमाको क्षेत्र बृहत् छ । समग्रमा निम्न प्रकारले सम्बोधन गरिने छ ।
१) मोटर तथा मोटरसाइकलको व्यक्तिगत तथा व्यवसायिक बीमा ।
२) घर तथा सम्पत्ति बीमा ।
३) इन्जिनियरिङ र ठेकेदारको जोखिम बीमा ।
४) सामुद्र्रिक (मेरिन) अथवा माल ढुवानी बीमा ।
५) हवाई बीमा ।
६) पशुपंक्षी धन तथा बाली र कृषि बीमा ।
७) स्वास्थ्य तथा ओषधोपचार बीमा ।
८) कृषि कर्मअन्तर्गतको जोखिम बीमा ।
९) गार्हस्थ बीमालगायत अरू बढी पनि बीमा समितिअन्तर्गत उपलब्ध हुनलाई स्वीकृति लिने प्रक्रियामा छन् ।

० लघु बीमाको परिभाषा के हो ?
– लघु भनेको सानो हो । यसअन्तर्गत आर्थिक अवस्था कमजोर हुने नागरिकका लागि प्रयोगमा ल्याइएको बीमा योजना हो । यसमा कम बीमा शुल्क तिरेर बढी जोखिमको क्षतिपूर्ति दिइन्छ ।

० बीमा जोखिम भनेको के हो ?
– आफ्नो स्थिति व्यवसायअन्तर्गत पर्न जाने अप्रत्याशित क्षतिको मूल्याङ्कन गरी उक्त जोखिमलाई वहन गर्नुलाई नै बीमा जोखिम भनिन्छ । जहाँ जोखिम हुन्छ, त्यस जोखिमको हस्तान्तरण गर्नेलाई बीमा गरिन्छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार