काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूबाट बीमालेख समर्पण गर्नेको संख्या घटे पनि समर्पणबापत बीमितलाई भुक्तानी भएको रकम भने बढेको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरूले ७ हजार ४११ वटा बीमालेख समर्पणबापत बीमितलाई १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा ७ हजार ६६६ वटा बीमालेख समर्पण भएका थिए। ती बीमालेखबापत कम्पनीहरूले १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेका थिए।
यस आधारमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा बीमालेख समर्पण गर्ने संख्या ३.३३ प्रतिशतले घटेको छ। तर, समर्पणबापत बीमा कम्पनीबाट बाहिरिएको रकम भने ५.०७ प्रतिशतले बढेको छ। अर्थात् बीमालेख समर्पणको संख्या घटे पनि समर्पण भएका बीमालेखको औसत रकम बढेको देखिन्छ।
यसैबीच, जीवन बीमा कम्पनीहरूमा व्यतित बीमालेखको संख्या पनि घटेको छ। तर, व्यतित बीमालेखबापत उठाउन बाँकी रकम भने बढेको छ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनसम्म जीवन बीमा कम्पनीहरूमा १० लाख २५ हजार ५४८ वटा बीमालेख व्यतित अवस्थामा छन्। ती बीमालेखबाट कम्पनीहरूले ३९ अर्ब १४ करोड ६४ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ।
गत आर्थिक वर्षको साउनसम्म १२ लाख २९ हजार ४४६ वटा बीमालेख व्यतित अवस्थामा थिए। ती बीमालेखबापत कम्पनीहरूले ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ उठाउन बाँकी थियो।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा व्यतित बीमालेखको संख्या १६.५८ प्रतिशतले घटेको छ। तर, व्यतित बीमालेखबाट उठाउन बाँकी रकम भने ४.६७ प्रतिशतले बढेको छ।
यसले जीवन बीमा कम्पनीहरूमा बीमालेखको निरन्तरता कायम गर्ने अवस्था संख्यात्मक रूपमा सुधार हुँदै गए पनि व्यतित बीमालेखमा रहेको रकमको आकार भने अझै बढिरहेको देखाएको छ।