free website hit counter

बीमा अभिकर्ताको अनलाइन परीक्षा सुविधाभन्दा पनि सकस

beemaadmin
२०८० फाल्गुन १२, शनिबार
  • सौगात कँडेल

नियामक निकाय नेपाल बीमा प्राधिकरणले अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट लिएर सात हजार भन्दा बढीले परीक्षा पास गरिसकेका छन् । यो पूरै नेपालको र सबै बीमा कम्पनीको तथ्यांक हो । समय सापेक्ष रुपमा यो राम्रो प्रयास हो । छिटो, छरितो, समयको बचत गरी अभिकर्ता हुन चाहनले बीमा सम्बन्धी पाठ्य सागम्री पढ्नै पर्ने, परीक्षामा ५० प्रतिशत नम्बर ल्याउनै पर्ने हुँदा अभिकर्ताको क्षमता र गुणस्तर वृद्धि भई बीमा बजारमा विस्तारमा रचनात्मक र सकारात्मक प्रभाव पर्ने निश्चित छ । परीक्षामा ५० वटा वस्तुगत प्रश्नहरुको उत्तर १ घण्टा ३० मिनेटभित्र दिनै पर्ने छ ।

दुर्गम क्षेत्रमा इन्टरनेटको समस्या
नेपाल बीमा प्राधिकरणको अभिकर्ता परीक्षा निर्देशिमा नै उल्लेख गरिएको विषय वस्तुमध्ये एउटा हो नेटको सुविधा प्रशस्त भएको हुनुपर्दछ । तर समस्या भनेको दुर्गम क्षेत्रमा यो सुविधा कम छ । र, शहर केन्द्रीत हुन बाध्य बनाउँछ । कतिपय जिल्लामा अनलाइन परीक्षा दिनै नपाएको गुनासो पनि आएका छन् । र, कतिपय बीमकहरु गाउँ केन्द्रीत हुन सकेका छैनन् । ग्रामीण र दुर्गम क्षेत्रमा अभिकर्ता नहुँदा बीमा व्यवसाय विस्तारमा समस्या पर्ने कुरा स्वाभाविकै हो । भिडियो नै खोलेर परीक्षा दिनु पर्दा नेटको गुणस्तर राम्रो र भरपर्दो हुनै पर्दछ । तर बेलाबखत नेटमा समस्या आउँदा परीक्षार्थी अलमलमा पर्दछन् ।

यस्तो बेला पर्छ परीक्षार्थीलाई समस्या
अनलाइन परीक्षा दिइरहँदा एक घण्टासम्ममा निरन्तर सहभागी भई त्यसपछि नेटमा समस्या आयो भने र परीक्षार्थीले प्रश्नको उत्तर लेख्न नभ्याएको अवस्थामा अटो समिट हुने व्यवस्था छ । तर नेट आएपछि लगइन गर्नु पर्ने हुन्छ । यसो गर्दा समय शुन्यबाटै शुरु हुन्छ । बाँकी रहेको ३० मिनेटमा सबै प्रश्नको उत्तर लेख्न समय पुग्दैन । जसको कारण परीक्षार्थी अर्को पटक परीक्षा दिन बाध्य हुन्छ । यस्ता प्राविधिक समस्याले गर्दा परीक्षार्थीलाई वितृष्णा पैदा भई अर्को पटक परीक्षा नदिन पनि सक्छ । यसको असर बीमा व्यवसायमा नकारात्मक पर्ने निश्चित छ ।

समाधान के होला ?
नेपाल बीमा प्राधिकरणले हालसम्म गरेका धेरै काम कारबाही समय सापेक्ष र सराहनीय छन् । जसमध्ये बीमकलाई नै बीमा अभिकर्ता उत्पादन गर्न नदिनु, अभिकर्ताको परीक्षा आफैं लिनु, बीमकको निरीक्षण गरी दण्ड सजायँको व्यवस्था गर्नु आदि । तर हाल आएर बीमा अभिकर्ता बन्न चाहनेलाई नियाम निकाय आफैंले परीक्षा लिनु राम्रो काम हो । तर दुरदराजका मानिसका लागि त्यहाँ भौतिक रुपमै परीक्षा लिएर बीमा अभिकर्ताको इजाजत दिइयो भने सहज हुन्छ । किनकि सबै प्रदेशमा बीमा प्राधिकरणको उपस्थिति छँदैछ भने दुर्गम स्थानमा भौतिक परीक्षा लिएर अभिकर्ता उत्पादन गर्दा सर्वसुलभ, पारदर्शी र बीमाको पहुँच गाउँ ठाउँसम्म पुग्ने हुन्छ । यस्ता विषयमा बीमा प्राधिकरणले ध्यान पु¥याउन जरुरी छ । दूरदराजमा बीमाको पहुँच नपुगेको बेला त्यही दूरदराजको युवा बीमा अभिकर्ता बन्छु भनेर लाग्दा समस्या झेल्छ र फेरि त्यो व्यवसायतिरबाट मन मोडिन पनि सक्छ ।

सम्बन्धित समाचार