काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कार्यालय भवनको शिलान्यास गर्दै बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। अर्थमन्त्री शर्माले पुरानै ऐन–कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन्। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताए। बीमा क्षेत्रको आवश्यकता र व्यवसाय धेरै भइरहेको सन्दर्भमा त्यसलाई नियमन गर्ने ऐन कानुन पनि त्यहीअनुसार विकसित हुन आवश्यक छ, उनले भने, करिब ३० वर्षअघि बनेको ऐनहरू आजको जनताको आवश्यकता तथा आजको व्यवसायको परिस्थितिअनुसार परिमार्जन एवम् निर्माण गर्नुपर्ने आवश्यकता भएको छ। त्यस्तै बीमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राही बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने शर्माले औँल्याउनुभयो।
राज्यका संस्थाको संरचना कमजोर हुनुकै कारण सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नसकिरहेको समेत शर्माले बताए। सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उनले जोड दिए। समग्र संस्थाको संरचनालाई बलियो बनाउन सरकारको ध्यान गएको पनि उनको भनाइ थियो।
पहिले जोखिमहरूको पहिचान गर्दा त्यसलाई न्यूनीकरण गर्न सकिने मन्त्री शर्माले धारणा राखे।
मन्त्री शर्माले बीमा कम्पनीहरू सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउनुहुँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनले बीमा कम्पनीहरूले गाउँघरमा गएर त्यहाँका जनताको जोखिम हेरेर बीमा गर्नुपर्नेमा जोड दिए। त्यसमा ऐन कानुनको सहजीकरणका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको उनले आश्वास्त पारे। जोखिम सहर बजारमा मात्र छैन। जोखिम सम्पन्नताभित्र मात्र छैन। जोखिम गरिबीमा पनि छ, गाउँ क्षेत्रमा पनि छ, उनले भने, तर जोखिम न्यूनीकरण गर्ने हाम्रो संकल्प त्यहाँसम्म पुगेको छैन। मन्त्री शर्माले कृषि बाली बीमामा बीमा कम्पनी र नियमनकारी नियकायको समेत ध्यान नगएकाले बाली बीमा नभएको बताए। सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको भए पनि त्यसमा सम्बन्धित निकायको ध्यान नजाँदा कार्यान्वयनमा समस्या भएको उनले उजागर गरे। शर्माले पछिल्लो समय आएको बेमौसमी वर्षाका कारण भएको बाली नष्ट जस्ताको असरलाई न्यूनिकरण गर्न त्यस किसिमका बीमाले टेवा पु¥याउने बताए। उनले त्यस्तो बीमा नगर्दा पछिल्लो समय सरकारलाई थोरैथोरै राहत दिँदा पनि ठूलो दायित्व व्यहोर्नुपरेको बताए।
पछिल्लो समय कोरोना महामारीमा ‘कोरोना बीमा’ गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए। कोरोना बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको जानकारी दिँदै उनले भने, ‘त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको छ। त्यसलाई चाँडै निचोडमा पुर्याइनेछ।