काठमाडौं । कोरोना संक्रमणको जोखिमबाट जोगिन बीमा कम्पनीहरुलाई नियामक निकाय बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई चार बुँदे निर्देशन जारी गर्दै कोभिड–१९ भाइरसको जोखिम न्यूनिकरणका उपाय अपनाउन भनेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मंगलबार अबेर निर्देशन जारी गर्दै सबै बीमा कम्पनीहरुलाई भेला, जमघट लगायतका कार्यहरु नगर्न तथा डिजिटल माध्यमबाट बैठकहरु गर्न निर्देशन दिएको छ । त्यसैगरी, समितिले सबै कम्पनीहरुलाई कोभिड–१९ बाट बच्न आवश्यक सम्पूर्ण आधारभूत सामग्री व्यवस्था गर्न भनेको छ । जारी निर्देशनमा बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीमा कोरोना भाइरस देखिएमा उक्त कर्मचारी र उक्त कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको समेत पिसिआर परिक्षण गर्ने खर्च कम्पनीले व्यहोर्ने गरी परिक्षण गराउन भनिएको छ ।
समितिद्वारा जारी निर्देशनमा आईशोलेशन वा क्वारेन्टिनमा रहेका कर्मचारीले पुरै तलव पाउने गरी अतिरिक्त विदाको व्यवस्था गर्न र घरैबाट काम गर्ने कर्मचारीलाई हाजिरीमा वर्क फ्रम होमको व्यवस्था गर्नु गराउन निर्देशन दिइएको छ ।