काठमाडौं । बीमाको दायरा बढ्दै जाँदा व्यवसाय पनि विस्तार भएको छ । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा पौने दुई खर्ब रुपैयाँ बढीको बिजनेश गरेका छन् । जीवन र निर्जीवन गरी कूल ३९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८÷७९ मा १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात प्रिमियम संकलन गरेका हुन् । जुन अघिल्लो आवको तुलनामा १६.४८ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । गत आवमा जीवन बीमा कम्पनीले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३९ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । ३९ वटा कम्पनीले कूल १ करोड ५८ लाख ८७ हजार ६५० वटा बीमा पोलिसी बिक्री गरेका छन् । जसमध्ये जीवन कम्पनीहरु १ करोड ३० लाख र निर्जीवन कम्पनीहर २७ लाखको बीमालेख बिक्री गर्न सफल भएका छन् । समितिका अनुसार समीक्षा अवधिमा बैदेशिक रोजगार बीमालेखको संख्या २९।७८ प्रतिशतले बढेर ८ लाख ९१ हजार ११३ वटा बिक्री भएका छन् । त्यस्तै, म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ८९ हजार रहेको छ । २०७९ असारसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या १४।७६ प्रतिशतले बढेर ३ हजार ३६६ वटा पुगेको छ । जुन २०७८ असारसम्ममा २ हजार ९३३ वटा थिए । त्यस्तै, बीमामा कार्यरत कर्मचारीहरुको संख्या पनि १० प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ । २०७८ असारसम्ममा १० हजार ७५२ कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत थिए ।