काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२५ को अवसरमा बेबिलोन नेशनल स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२५ को ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै प्राधिकरणले युवा वर्गलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो । सो कार्यक्रममा प्राधिकरणको तर्फबाट उपनिर्देशक राजेन्द्र महर्जनले ग्लोबल मनि वीकको को थिममा रहि प्रस्तुतीकरण समेत दिएका थिए । वित्तीय साक्षरता कार्यक्रमबाट युवा वर्गलाई पैसाको महत्व तथा सही सदुपयोग गर्न प्रेरणा तथा जागरण गर्नु प्राधिकरणको मुख्य उद्देश्य रहेको महर्जनको भनाई छ । प्राधिकरणले वित्तीय ज्ञान, सीप र मनोवृत्ति साथै व्यवहारमा सुधार गर्दै वित्तीय सक्षमता अभिवृद्धि गर्न तथा विवेकशील वित्तीय निर्णय लिन उक्त कार्यक्रम सञ्चालन गरेको हो । उपनिर्देशक महर्जनले बीमा क्षेत्रको सम्भावना तथा बीमाको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराए । यस वर्षको ग्लोबल मनि वीक २०२५ मनाउने सम्बन्धमा प्राधिकरणले विभिन्न कार्यक्रम गर्दैछ । मानिसको जीवन तथा सम्पत्तिमा आइपर्ने विभिन्न घटनाबाट उत्पन्न हुने जोखिम व्यवस्थापनका लागि बीमा गर्न समेत आग्रह गरिएको थियो । कार्यक्रममा प्रस्तुतीकरणसँग सम्बन्धी प्रश्नउत्तर प्राधिकरणको तर्फबाट सहायक प्रथम सागर आचार्यले गराएका थिए भने उक्त कार्यक्रममा सन्धा गौतमको पनि सहभागिता रहेको थियो । बेबिलोन नेशनल स्कुलका सह प्रधानध्यापक रीता राईले कार्यक्रम अति नै उपयोग रहेको बताइन्। साथै, आगामी दिनमा अनुशासित भई बचत गर्ने बानी बसाल्नुका साथै अभिभावकको सहयोग लिई सही वित्तीय उपकरणमा लगानी गर्दै जान समेत विद्यार्थीहरूलाई आग्रह गरिन्।