free website hit counter

बीमा बजार विस्तारमा चेतनाको अभाव

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

नेपालमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता देखिन्छ । बीमा बजार विस्तारका लागि बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ । बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ । अरुको करकापमा भन्दा पनि आफैँ महत्व बुझेर बीमा गर्न अग्रसर हुने वातावरण निर्माण गर्नुपर्छ । बिमक र बिमित दुबैको पहलमा बीमा क्षेत्रको दायरा फराकिलो बनाउन जरुरी छ । गाउँ–गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । सहरका मानिसहलई बीमा बारे केही कुरा थाहा भए तापनि ग्रामीण भेगका मानिसहरुमा बीमा शिक्षा अत्यन्त कम छ । कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको छ । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । यद्यपि, धेरै मानिसहरुले अनुदानको आशमा कृषि बीमा गरे पनि घरको बीमा गरेका छैनन् ।

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडि ल्याएको छ । पछिल्लो समय बीमा कम्पनीहरुको संख्या बढेसँगै सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी हुने हो कि भन्ने डर थियो । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । स्वदेश होस् वा विदेश बीमाको सिद्धान्त एउटै हुन्छ । नेपाली बीमा कम्पनीहरु पनि अन्तरराष्ट्रिय मान्यता अनुसार नै चलेका छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने भएकाले भाषा पनि एउटै हुनुपर्छ । तर विदेशी बीमा कम्पनीहरुको क्षमता बढी भएका कारण बिमितलाई सुविधा पनि धेरै दिएका छन् । प्रविधिमैत्री बजार भएका कारण पहुँच पनि उनीहरुको बढी छ ।

सुरुमा नेपालमा केही विदेशी कम्पनीहरु मात्र थिए । ती विदेशी बीमा कम्पनीहरुले बीमा व्यवस्थापन राम्रोसँग गरेका थिएनन् । खासगरी उनीहरु एउटा एजेन्सीकै रुपमा थिए । नेपालबाट धेरै पैसा बाहिर जाने गरेको थियो । नेपाल एउटा कलेक्सन सेन्टर जस्तो मात्र थियो । त्यतिबेला एलआईसी अफ ईन्डीया नामक कम्पनीले बीमा क्षेत्रको परिवर्तनमा धेरै योगदान पुर्याएको थियो । त्यो समयमा एलआईसी गर्ने र बीमा गर्ने भन्ने शब्द पर्यावाची जस्तै थियो । २०२४ सालमा स्थापना भई ०२५ सालमा संस्थानमा परिणत भएदेखि बीमा संस्थानले नेपालको वास्तविक बीमाको रुपमा काम गर्दै आएको हो । बीमा संस्थानको राम्रो विकास हुँदै आएपछि अन्य बीमा कम्पनीहरु पनि स्थापना हुँदै आएका हुन् । अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । पहिलेको तुलनामा भने बीमाको पहुँच बढे पनि यो पर्याप्त भने छैन । बीमा समिति र बीमा कम्पनीहरुका कारण नभई मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडि बढ्न सकेका छैनन् ।

वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको हो । पछिल्लो समय अनिवार्य गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको हो । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा बढेको छ । तर, यसैलाई बीमाको पहुँच बढेको मान्न सकिँदैन । एउटै गाडीको ५०।६० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । यस्ता ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरुले बीम गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गरे जस्तै बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्दछ । सबै बीमा कम्पनीहरुलाई सही मार्गदर्शन गरी जनताको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि नीति नियमहरु तर्जुमा गर्ने काम बीमा समितिले गर्दै आएको छ । बीमा उद्योगलाई स्वस्थ प्रतिस्पर्धामा ल्याउनु नै बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन बीमा ट्रेनिङ इन्स्टिच्युटको स्थापना भइसकेको छ । यस इन्स्टिच्युटले बीमासँग सम्बन्धित मार्केटिङ, अन्डरराइटिङ जस्ता विविध किसिमका तालिम दिने गर्दछ । बीमा क्षेत्रमा जागिर खोज्न आउने कर्मचारीहरुलाई काम गर्न दक्ष बनाउनु नै यसको मुख्य उद्देश्य हो । बीमाको बारेमा बुझ्न चाहने व्यक्तिहरुकमा लागि पनि विभिन्न कोर्शहरु संचालन गरि बीमा बारे चेतना फलाउनु यस इन्स्टिच्युटको उद्देश्य रहेको छ ।

(सार्वजनिक अभिव्यक्तिमा आधारित)

सम्बन्धित समाचार