free website hit counter

बीमा रकमकै लागि यति ठूलाे अपराध !

beemaadmin
२०७७ असार १६, मंगलवार

काठमाडौं । पैसाका लागि मान्छे के मात्रै गर्दैन ? जति ठूला अपराध भएका छन् ती सबै पैसाकै लागि भएको छ । मान्छे अरुलाई मारेर भए पनि आफू धनी बन्ने सपना देख्दा अपराध बढेको छ । हेटौंडा–४ की २४ वर्षीया सुस्मिता क्षेत्री थापाको उहाँकै सासु, ससुरा र नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । असार २ गते घरकै भान्छा कोठामा मृत भेटिएकी सुस्मिताको आत्महत्या नभई हत्या भएको र घटनामा चार जनाको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको हो। उहाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ससुरा प्रकाश थापा, सासु तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सुस्मिताका पति रूपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भैसकेको छ ।
गत दशैंमा ससुराली कपिलवस्तुबाट टीका थापेर हेटौडा फर्किने क्रममा दाउन्नेमा दुर्घटनामा परी उनको ज्यान गएको थियो ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले सुस्तिताको हत्याको मुख्य कारण सुस्मिताको पतिको बीमा वापत पाउने रकम भएको बताउनुभयो । मृत्युपश्चात क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ पनि आफूहरुले पाउनु पर्छ भन्दै परिवारले विवाद गरेको थियो । रूपेन्द्रले पाउने तलब, बोनस, बीमा वापतको पाउन बाँकी ३८ लाख २८ हजार पनि आफूहरुले नै लिन बुहारीको हत्या गरेको खुलेको छ। राठौरका अनुसार रकम पाउने हकवालाको विषयमा विवाद हुँदा उक्त रकम भुक्तानी हुन सकेको थिएन। सबै रकम आफूलाई दिन परिवारले बारम्बार सुस्मितालाई दबाब दिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । इन्जिनियर रूपेन्द्र र सुस्मिताबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो।
प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको हो । रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । यो रकमको हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए। यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ । यही दुई कारणले परिवारका सदस्यहरू मिलेर सुस्मिताको हत्या भएको देखिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।
घटना योजनाबद्ध रूपमा भएको देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए । उनी भुइँमा लडिन् । त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि उनी गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आइन् । तर बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरे । भुइँमा लागेको रगत सफा गरे, कपडामा लागेको सबै रगत पखाले । छोरीलाई बाहिर पठाएपछि प्रकाशले भित्रबाट चुकुल लगाए र आल्मुनियमको स्लाइडिङ झ्यालबाट झ्यालबाट बाहिर निस्किए । भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो। प्रहरीका अनुसार घटना भएको दिन नन्द दूर्गा भने काठमाडौंमा रहेको पाइएको छ । हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरूलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रूर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैदसम्म सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।

सम्बन्धित समाचार