काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रदेशस्तरमा शाखा कार्यालय विस्तार गर्ने भएको छ । बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने निर्णय गरिएको थाहा भएको छ । समितिले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश २ मा शाखा विस्तार गर्ने भएको छ । समितिले प्रदेशमा शाखा विस्तारको लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । नेपालमा सञ्चालित १९ जीवन बीमा र १० वटा निर्जिवन बीमा कम्पनीहरु देशका सबै जिल्ला तथा स्थानीय तहसम्म पुगेर शाखा कार्यालयमार्फत सेवा दिइरहेका छन् । बीमा समिति केन्द्रमा मात्रै हुँदा प्रदेशमा नियमन थप प्रभावकारी बनाउन शाखा विस्तारको अबधारणा अघि सारिएको हो । उक्त समस्या निराकरणका लागि बोर्डको बैठकले पँहुच विस्तार कम भएका प्रदेशबाट शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । हाल राजधानी उपत्यकाको ललितपुरस्थित कुपण्डोलमा रहेको एक मात्र कार्यालयबाट बीमा समितिले सेवा प्रवाह गरिरहेको छ । बीमा समितिमा सामान्य उजुरी गर्नु मात्रै पर्यो भने संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता छ । उक्त समस्या निराकरण गर्न बोर्डले शाखा विस्तार गर्ने निर्णय गरेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।