काठमाडौँ । राजधानीमा एकै दिन २ सय ५ जना संक्रमित भेटिएपछि भदौ ३ गते मध्यरातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । राजधानीमा कोभिड १९ को संक्रमण अचाक्ली बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा, सञ्चारकर्मी र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन ।
औषधि, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन हुने छैनन् । कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पूर्ण रोक लगाइएको छ । दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ । फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुँरा सञ्चालन गर्न पनि पाइने छैन । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन् ।