free website hit counter

बेलैमा पाउलान् किसानले मल

beemaadmin
२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं । गत वर्षदेखि रासायनिक मलमा धेरै ठूलो अभाव भएको छैन। खेती लगाउने सिजनमा त्यसअघि रासायनिक मलको अभाव हुँदै आएको थियो। गत वर्षदेखि सरकारले केही मात्रामा भने पनि यस समस्याको हल गरिरहेको छ। यो वर्ष पनि खेती लगाउने सिजनमा मल अभाव हुन नदिन सरकारले अहिले नै ठेक्का आह्वान गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षदेखि नै ताकेता गरेर रासायनिक मलको लागि बजेट अभाव हुन नदिन निर्देशन दिँदै आएका छन्। जसअनुसार अर्थ मन्त्रालयले कृषि विकास तथा पशुपक्षी मन्त्रालयमा निकासा समेत दिइरहेको छ। चालू आर्थिक वर्षको लागि ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा १५ अर्ब रुपैयाँ खर्चको लागि सहमति प्रदान गरिसकेको छ। अर्थ मन्त्रालयका अनुसार यो वर्षको लागि पुस मसान्तसम्मै आधा रकम सहमति प्रदान भइसकेको छ। यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फागुन ३ गते ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरिसकेको छ। कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो। ३ गते प्रकाशित विज्ञापनअनुसार आगामी मार्च ६ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ। प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने त्यसको तीन दिनपछि प्राविधिक रुपमा योग्य बोलपत्रदाताको विवरण सार्वजनिक गरिनेछ। आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी मार्च १५ तारिखलाई तोकिएको छ। कर्पोरेसनका अनुसार सोही दिन आर्थिक बोलपत्र खोलिनेछ। मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ। आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ। खरिदकर्ताले उक्त रकम अमेरिकी डलरमा उल्लेख गर्नुपर्नेछ। त्यस्तै कृषि सामग्री कम्पनीले पनि सोमबार ३० हजार मेट्रिक टन युरिया मलको लागि नै ग्लोबल बोलपत्र आह्वान गरेको हो। प्रकाशित विज्ञापनअनुसार आगामी मार्च १९ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ। प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी अप्रित ५ सम्मको लागि तोकिएको छ।

सम्बन्धित समाचार