काठमाडौं । रोजगारीका लागि विदेश जानेहरुलाई परिवारको स्वास्थ्य उपचारको आर्थिक भार नपरोस् भनेर बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउने प्रकृया अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउने कार्यविधि २०७८ माघ महिना भित्रै लागू गर्ने तयारी थालेको छ । कार्यविधिमा बैदेशिक रोजगारमा जाने प्रत्येक व्यक्तिले बैदेशिक रोजगारमा जाने अनुमति लिंँदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिने कार्यालयहरुमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ। स्वास्थ्य बीमा ऐन अनुसार नै बोर्डले कार्यविधि तयार पारेको हो। कार्यविधि लागू भएपछि बैदेशिक रोजगारमा जाने हरेक नागरिकले आफ्नो परिवारको अनिवार्य स्वास्थ्य बीमा गर्नु पर्ने हुन्छ। स्वास्थ्य बीमामा आबद्ध भएपछि बैदेशिक रोगजारीमा जाने परिवारका अन्य सदस्यहरुले स्वास्थ्य तथा उपचार खर्चको लागि बैदेशिक रोजगारीमा जानेको भर पर्नु नपर्ने बोर्डको दाबी छ। स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सम्बन्धित व्यक्तिले नजिकको दर्ता सहयोगि वा अनलाईन मार्फत पनि बीमा गर्न सकिने व्यवस्था गरेको छ।