free website hit counter

भूकम्पबाट घाइते अब ७४ जना मात्रै अस्पतालमा

beemaadmin
२०८० कार्तिक २२, बुधबार

काठमाडौं– जाजरकोट र पश्चिम रुकुममा यही कात्तिक १७ गते गएको भूकम्पमा घाइतेमध्ये ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ भने नेपालगन्जको भेरी अस्पतालमा ४६ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जनाको उपचार भइरहेको र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र मन्त्रालय प्रदेश सरकार र स्थानिय सरकारसँग पनि समुन्वय गरेर घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन लागि परेको जनाएको छ। घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क रुपमा भइरहेकोसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन्। घाइतेहरुको औषधि उपचारमा कुनै कमि हुन नदिन मन्त्रालयले आफ्ना संयन्त्रलाई परिचालन गरेको तदारुकताका साथ काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बताए। यसैबीच प्रदेश सरकारसँग समन्वय र भविश्यमा भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने महामारीको आकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको ३ सदस्यीय टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ। उक्त टोलीले भूकम्पपछि त्यो क्षेत्रमा देखिन सक्ने महामारी, कुपोषण, मनोसमाजिक समस्या लगायतको रोकथाम र व्यवस्थापनका क्षेत्रमा काम गर्ने छ।

सम्बन्धित समाचार