काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ।
कुशीनगर प्रशासनका अनुसार हालसम्म नारायणी नदीबाट १३ वटा शव फेला परेका छन्। तीमध्ये ६ जना पुरुष र ७ जना महिला रहेका छन्।
बीबीसी हिन्दीका अनुसार फेला परेका शवमध्ये ६ वटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। शवगृहमा पर्याप्त स्थान नभएपछि बाँकी ७ शवलाई गोरखपुरस्थित एम्स अस्पतालमा पठाइएको छ।
थप शव फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतको राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) को टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेको छ।
कुशीनगरकी प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले स्थानीय पत्रकार गुड्डु निषादसँग कुरा गर्दै शवको पहिचान तथा व्यवस्थापनका लागि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन्। उनका अनुसार कुशीनगर प्रशासन नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ र भारतको विदेश मन्त्रालयमार्फत फेला परेका शवबारे नेपाललाई जानकारी गराइरहेको छ।
प्रशासनका अनुसार पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि पहिचान भएका शव नेपाललाई हस्तान्तरण गरिनेछ। नेपालबाट आफन्त तथा अन्य व्यक्ति शवको खोजीका लागि आउन सक्ने भएकाले प्रशासनले उनीहरूलाई सहयोग गर्न नियन्त्रण कक्षसमेत स्थापना गरेको छ।
यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि नेपालमा अझै ३ हजार ९२५ जना सम्पर्कविहीन छन्।
सोमबार साँझ ७ बजेसम्म नदी किनार तथा विभिन्न स्थानबाट ९३९ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ। बाढीको बहावसँगै शवहरू तल्लो तटीय क्षेत्रमा समेत पुगेका छन्।
जिल्लागत रूपमा सबैभन्दा धेरै शव चितवनमा २७९ वटा फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ वटा शव फेला परेको प्राधिकरणको विवरण छ।
नेपालमा बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले भारतको नारायणी नदीमा फेला परिरहेका अज्ञात शवको पहिचान र नेपाल हस्तान्तरणका लागि दुवै देशका सम्बन्धित निकायबीच समन्वय महत्वपूर्ण बनेको छ।