free website hit counter

भौतिक पूर्वाधार विकासमा अग्रसर बलरा

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

सर्लाही जिल्लाको दुर्गम स्थानीयतहमध्ये बलार नगरपालिका एक हो । भारतसँग सीमा जोडिएको उक्त नगरपालिका आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शैक्षिक क्षेत्रमा समेत पिछडिएको नगरपालिका हो । नगरपालिकाले जननिर्वाचित प्रतिनिधि प्राप्त गरेपछि उक्त क्षेत्रको विकासको लागि बलरा लम्किरहेको छ । अन्य विकसित स्थानीय तहको दाँजोमा पुग्न नसके पनि बलराले जनप्रतिनिधि प्राप्त गरेपछि फड्को मारिरहेको छ ।

११ वटा वडा रहेको उक्त नगरपालिकाको क्षेत्रफल ४८.५५ बर्ग किमि रहेको छ । जहाँ २०६८ को जनगणनाअनुसार ८ हजार १ सय ५२ घरधुरी रहेको छ भने कुल जनसंख्या ५२ हजार ९ सय ९५ रहेको छ । बलरा नगरपालिकाको पूर्वमा गोडैता नगरपालिका, पश्चिममा रौतहट जिल्ला रहेको छ भने उत्तरमा रामनगर गाउँपालिका र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । साविकका बलरा, हथिऔल, अर्नाहा, मधुबनी, डुमरिया, मिर्जापुर, गढहिया, अचलगढ, सुदामा, छटौनालगायतका गाविस मिलेर बनेको बलरा नगरपालिका भौगोलिक रुपमा दुर्गम भए पनि प्राकृतिक, कृषि र साँस्कृतिक हिसावले सबल छ । ती क्षेत्रको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न नगरपालिका अग्रसर भइरहेको नगरप्रमुख अभयकुमार सिंह बताउनुहुुन्छ ।

आफू निर्वाचित भएर आएपछि नगरपालिकाभित्र रहेका साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको विकासका लागि प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ । यही सिलसिलामा नगरपालिकाको वडा नं. ८ गडैयामा ८ लाख बजेटमा हनुमान मन्दिर निर्माणको कार्य अघि बढेको छ भने १ नम्बर वडामा १६ लाख लगानीमा शिवपार्वती मन्दिर बन्दैछ । २ नम्बर वडामा १८ लाखको बजेटमा भगवती मन्दिर बनिरहेको छ । नगरपालिकाभित्र रहेका अन्य सम्पादा तथा मठमन्दिरको भौतिक पूर्वाधार, जिर्णोद्धारको कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको र यस वर्ष शुरु हुन नसकेका योजनाहरु आगामी वर्ष शुरु गर्ने नगर प्रमुख सिंह बताउनुहुन्छ । त्यसैगरी भौतिक पूर्वाधारको क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । सडक, खानेपानी, सिञ्चाई, तटबन्ध, पुल, कलभर्ट निर्माण जस्ता भौतिक पूर्वाधार विकासमा पनि नगरपालिकाले यथेष्ट बजेट विनियोजन गरी काम गरिरहेको उहाँ बताउनुहुन्छ । यसका लागि भौतिक पूर्वाधारको क्षेत्रमा १० करोड बजेट विनियोजन गरेको नगरप्रमुख सिंह बताउनुहुन्छ । नगरपालिकाले विनियोजन गरेका बजेट र कार्यक्रममध्ये अधिकांश उपभोक्तासँग सम्झौता भई काम शुरु भइसकेका छन् भने कतिपय योजनाहरु सम्पन्न हुने क्रममा छन् ।

बर्खाभन्दा अगाडि नै विनियोजित कार्यक्रम सम्पन्न गरिसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस्तै नगरभित्रका विभिन्न स्थानमा ४८ लाख, १६ लाख, २४ लाख, २० लाख, २५ लाख बजेटमा छुट्टाछुट्टै सडक ढलान गर्ने कार्य धमाधम भइरहेको छ । नगरभित्रका वडा नं. १, ३ र ८ मा नेपाल सरकारको ससर्त अनुदानबाट ६६ लाखका दरले ३ वटा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै नगरप्रमुख सिंहकाअनुसार, वडा नं. ११ को छतौना सुधा राजेश्वर माविमा १६ बजेटमा भवन निर्माण भइरहेको छ भने मिठुवा प्रावि, लक्ष्मिपुर प्राविमा १६/१६ लाखको बजेटमा भवन निर्माण गर्ने कार्य भइरहेको छ ।

विद्यालयको भौतिक पूर्वाधारको विकास पनि गुणस्तरीय पठनपाठनका लागि एउटा सूचक भएको भन्दै नगरपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ । नगरपालिकाले भौतिक पूर्वाधार विकासका अलावा आफ्नै प्रशासनिक भवन निर्माण कार्यलाई अगाडि बढाउनका लागि यो वर्ष रु १ करोड बजेट विनियोजन गरेको छ । रामसखी मोहित विद्यालयको भवनलाई नगरपालिकाको प्रशासनिक भवनका रुपमा प्रयोग गर्दै आइरहेको नगरपालिकाले वडा नं. २ मा नगरपालिकाको केन्द्र राख्ने र त्यही प्रशासनिक भवन निर्माणका लागि नगरसभाको बहुमत सदस्यहरुले निर्णय गरी प्रदेश नं. २ सरकारलाई केन्द्र स्थापनाका लागि सिफारिश गरिसकेको छ । तर प्रदेश सरकारले उक्त निर्णयका बारेमा हालसम्म केन्द्रीय सरकारलाई सिफारिश नगर्दा भौतिक पूर्वाधारका लागि छुट्याइएको बजेट खर्च हुन पाएको छैन । प्रदेश र केन्द्र सरकारले निर्णय गर्नेबित्तिकै बिनियोजित बजेटबाट भौतिक निर्भाण थालिहाल्ने नगरप्रमुख सिंह बताउनुहुन्छ ।

नगरपालिका भवन निर्माणका लागि स्थानीय जितेन्द्रबहादुर सिंहले १६ कठ्ठा जग्गा पनि निःशुल्क रुपमा नगरपालिकालाई हस्तान्तरण गरिसकेको अवस्था छ । जनप्रतिनिधिहरुको उत्साह भर्ने काम गरेका जितेन्द्रबहादुर सिंहको यो कदमप्रति स्थानीय जनता निकै खुशी छन् । नगरभित्रको विकासका लागि नागरिकहरु लालायित भए पनि राजनीति हुने गरेकोमा भने नगरप्रमुख दुःखी हुुनुहुन्छ । बलरा नगरपालिकाका नागरिक जनप्रतिनिधिलाई विकासप्रति उत्प्रेरणा गराउन उत्सुक छन् तर त्यही नागरिकका नाममा राजनीति गर्ने नेताहरु भने विकासका नाममा राजनीति गरेर जनताको भावनामा खेल्ने काम गरेका छन्, यो दुःखद पक्ष भएको नगरप्रमुख सिंहको दुखेसो छ ।

बलरा नगरपालिकालाई समृद्ध नगर बनाउका लागि जनप्रतिनिधिहरुको योजनामा स्थानीय जनताको साथ सहयोग अपरिहार्य रहेको र त्यो प्राप्त भइरहेको सिंह बताउनुहुन्छ । नगरभित्रको आयस्रोत मुलतः कृषि नै हो । कृषि क्षेत्रलाई वैज्ञानिक र व्यवसायिक बनाउनका लागि नगरपालिकाले पर्याप्त योजनाका अगाडि बढेको उहाँ बताउनुहुन्छ । जनप्रतिनिधिहरुको योजना र लक्ष्यमा कर्मचारीहरुको पनि उत्तिकै साथ सहयोग रहेको नगरप्रमुख सिंह बताउनुहन्छ । तर दरबन्दी अनुसारका सबै कर्मचारीहरु नआएका कारण काम गर्न केही असहज भएको सिंहको धारणा छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नगरपालिका विशेष सजग रहेको सिंह बताउनुहुन्छ । भारतसँग सीमा जोडिएको नगरपालिका भएका कारण पनि आफूहरु विशेष सजग रहेको र नागरिकहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दुर्गम स्थानमा रहेको नगरपालिकाको विकासका लागि स्थानीय जनप्रतिनिधिहरुको अग्रसरतामा प्रदेश र संघीय सरकारले पनि नजर लगाउन सक्यो भने बलरा साँच्चैको बलरा बन्न सक्दछ ।

(नगरप्रमुख अभयकुमार सिंहसँग गरिएको कुराकानीमा आधारित)

सम्बन्धित समाचार