free website hit counter

मध्यरातमा यसरी ल्याइँदैछ चीनमा रहेका नेपाली

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउन सरकारले शनिबार जहाज पठाउँदैछ । कोरोना भाइरसको त्रासले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन सरकारले विशेष तालिमप्राप्त टोलीलाई शनिबार जहाजसहित चीनको हुबेई प्रान्तको वुहान सहर पठाउन लागेको हो ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक रहने छन् । नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६ः४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने छ ।

उद्धार गरी ल्याइएका विद्यार्थीको विभिन्न परीक्षण गरिने भएको छ भने १४ देखि १७ दिनसम्म उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने छ । विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने उनीहरूका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरूलाई भेटन पाउने छैनन् ।

स्वास्थ्य उपचारसँगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ । विद्यार्थीहरू चौबिसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरीपाटीमा ८६ जना चिकित्सक खटाइने भएको छ ।

सम्बन्धित समाचार