सिन्धुपाल्चोक । निर्माणाधिन मध्ये भोटेकोशी हाईड्रोप्रोजेक्टमा बाढीले ठूलो क्षति पुर्याएपछि बीमा दाबी भुक्तानीका लागि प्राविधिक खटाउने तयारी भएको छ । कूल १४ अर्ब ८३ करोड अनुमानित लागतमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको सो आयोजना करिब ६५ प्रतिशत कार्य सकिएको अवस्थामा बाढीले क्षति पुर्याएको हो ।
बाढीले त्यहाँ कार्यरत एक जना चिनियाँ प्राविधिकलाई समेत बेपत्ता बनाएको छ । क्षतिको दावी सहित प्रिमियर इन्स्योरेन्समा बीमा दावी परेको छ । प्रिमियर इन्स्योरेन्समा भने इलेक्ट्रोमेकानिकल इक्वुपमेन्ट मात्रैको बीमा गरिएको बताइएको छ । सिभिल कन्ट्रक्सनको बीमा त्यहाँ नगरिएको बताइएको छ ।
मध्य भोटेकोशी परियोजनाका सिईओ मणिकुमार काफ्लेका अनुसार अविरल बर्षासँगै आएको बाढीले दर्जनौं मेशिन तथा उपकरणहरु बगाएकोछ । तर, मुख्य हेडवक्र्समा भने नपसेको उनले बताए । सिईओ काफ्लेले टर्वाइन लगायतका अर्बौको समान ल्याएर राखिएको थियो । ति सामानहरु राखिएको ठाउँमा क्षति पुगेको देखिएको छ, अहिले त्यहाँ जान सकिएको छैन, स्थगलत अध्ययन पछि मात्रै क्षतिको विवरण दिन सकिन्छ ।’ काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जेनेरेटर ट्रान्सफर्मर बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ति सबै उपकरण बगाएको भए अर्बभन्दा माथि नै बीमा दावी पर्ने अनुमान छ । प्रारम्भिक रुपमा क्षतिको विवरण संकलन गर्ने कामपछि बीमा दावी प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।