free website hit counter

महाधिवेशनमा चुनिएका यूवाहरूबाट अपेक्षा

beemaadmin
२०७८ पुष २२, बिहीबार

नेपालका राजनीतिक दलहरूले हालै गरेका महाधिवेशनको नतिजाको चासो सम्बन्धित दल संग आस्थावानहरूमा मात्र सीमित नरहेर सम्पूर्ण जनताले समेत लिएको पाईयो।चासो यस मानेमा कि सर्वसाधारणले आशा र विश्वास गरेका पात्रहरूले निर्वाचनमा विजय हासिल गर्छन् वा गर्दैनन् भनेर। महाधिवेशनमा २ किसिमले ब्यक्तिहरूको छनौट भयो, एउटा प्रत्यक्ष मतदानबाट र अर्को सहमतीको नाममा साविक अध्यक्षबाट गरिएको मनोनयनबाट। मनोनयनबाट छानिएका ब्यक्तिहरूमा कमै मात्र जनताको चासो र जिज्ञासा रह्यो तर चुनावबाट छानिएका ब्यक्तिहरू उपर अधिकांश जनताको चासो रहेको पाईयो। यसरी चुनाव गराउनेमा लोक तान्त्रिक पार्टीको नाताले नेपाली कांग्रेसको नै अग्रता रह्यो। यो पार्टीले महाधिवेशनमा पुस्तान्तरणको नारालाई अगाडि सारेको थियो जस अनुसार सभापति बाहेकका अधिकांश पदहरूमा पुस्तान्तरणको दृश्य देख्न पाईयो।

यसरी देखिने पदाधिकारीहरूमा महामन्त्रीका दुवै पद र उप सभापतिको एक पदमा निर्वाचित पदाधिकारी उपर नेपाली कांग्रेस ईतरबाट समेत आशा र भरोसा गरेको देख्न पाईयो। यी उम्दा ब्यक्तित्वबाट हाल मुलुकमा विद्यमान राजनीतिक र आर्थिक विकृति र विसंगतिमा केही न केही सुधार हुने अपेक्षा मुलुकवासीले गरेका छन्। त्यसो त राप्रपाको नेत्तृत्त्वमा देखिएको पुस्तान्तरणले पश्चगमनको नारा अगाडि बढाएको भए पनि राजनीतिमा यूवा पुस्तालाई आकर्षण गरेको विषयलाई सकारात्मक रूपमा लिन सकिन्छ। महाधिवेशन सम्पन्न गरेका राजनीतिक दलहरू कति नीति मुखी भए कति नेता मुखी भए भन्ने विषयमा विश्लेषण गर्ने हो भने सबै पार्टीहरू नीति मुखी हुने तर्फ चुकेको पाईन्छ। नेपाली कांग्रेसले पनि यो महाधिवेशनमा विगतका कमी कमजोरीहरूको समीक्षा गरी पार्टीका नीतिहरूमा कुनै छलफल चलाएको पाईएन।

तर पनि विधान वमोजिम पार्टीमा चुनिएर आएका यूवाहरूलाई यूवाहरूको प्रतिनिधि मानेर हेर्दा यसको विधानको दूर दृष्टिलाई साक्षी राखेर समीक्षा गर्नु पर्ने हुन्छ। नेपाली कांग्रेस लोकतन्त्र सहितको समाजवादमा विश्वास राख्ने पार्टी हो र यसको गन्तब्य पनि समाजवाद हो। समाजवाद भन्नाले स्वतन्त्रता सहितको समतामूलक समाज हो। नागरिक स्वतन्त्रता, कानूनको शासन, मानव अधिकार, संसदीय शासन प्रणाली, यसका मान्यता हुन्। यी सबै ब्यबस्थालाई जीवनमा, दैनिकीमा उतार्ने विचार बोकेको यो पार्टीका कार्यकर्ताहरू पनि यस्तै विचार बाट दीक्षित र प्रशिक्षित छन्। यो पार्टी निजी क्षेत्रलाई राष्ट्र निर्माणको पक्षमा लगाउने ध्येय भएको पार्टी हो। देश विकासका सबै काम राज्यबाट नियन्त्रित हुनु पर्छ भन्ने मान्यतामा विश्वास गर्दैन यो पार्टी।

बजार मुखी अर्थ तन्त्रमा विश्वास राख्ने यो पार्टी सेवाग्राहीको सन्तुष्ठीलाई मात्र आफ्नो सफलताको कसी ठान्दछ। यस्ता राजनीतिक र आर्थिक उद्देश्य लिएर हिडेको यो पार्टी विगतमा पटक पटक सरकारमा गयो र अहिले पनि मिलीजुली सरकारको नेतृत्व गरी राखेको छ। यसले विगतमा गरेका कामको समीक्षा गर्दा त्यति सन्तोष लिने ठाऊ छैन। यसरी तदर्थ रूपमा गरेको काम गराईवाट जनता सन्तुष्ठ हुन नसकेर विगतमा पटक पटक अन्य पार्टीहरु लाई समेत सरकारमा पठाए जनताले तर अन्य पार्टीहरुले पनि जनता सन्तुष्ठ पार्न सकेनन्। यसरी आफ्नो राजनीतिक गन्तब्य र आर्थिक बाटो स्पष्ट नभएका र सदैव अलमलमा परेका पार्टीबाट दिक्क भएर जनतामा नैराश्यता छाएको परिप्रेक्ष्यमा नेपाली कांग्रेसलाई कृयाशील बनाउन पार्टीको महत्वपूर्ण भूमिकामा केही युवाहरू यस पटक देखिएका छन्।

ती युवाहरूले पार्टीले विगतमा देखाएका कमी कमजोरीलाई सच्याएर पार्टीको गन्तब्य अनुरूपका नीति तथा कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने देखिएको छ। कुनै पनि पार्टीको सिद्धान्तले मात्र जनतामा सन्तुष्ठी दिदैन, यसको निम्ति त्यो सिद्धान्तलाई कार्यक्रम र नीतिका माध्यमबाट ब्यबहारमा ल्याउन सके मात्र त्यो सिद्धान्तको उपयोगिता पुष्टी हुन्छ। नेपालका अन्य पार्टीले ल्याएका सिद्धान्तहरु विदेशको परिवेश र तत्कालीन समयलाई हेरेर ल्याईएको र नेपालमा त्यसैलाई कपी पेस्ट गरिएको कारणले नेपालको सन्दर्भमा ती दर्शनहरू कामयाव हुन नसकेको पृष्ठभूमिमा नेपाली कांग्रेसको गन्तब्य र मार्ग देश र समय सापेक्ष हुदा हुदै पनि कार्यान्वयन पक्ष कमजोर हुनाले नेपाली कांग्रेसले आफूलाई देश र जनताको पक्षमा आफूलाई दह्रो रूपमा उभ्याउन सकेन।

यस पटकको महाधिवेशनले त्यस्ता ब्यक्तिहरुलाई त्यो ठाउमा पुर्याएको छ जसले विगतका कमी कमजोरी सच्याउदै देश जनताको हितमा सो पार्टीको अवधारणालाई स्थापित गर्न सकुन्। यसरी देश र जनताले आशा र भरोसा राखेका निश्चित युवाहरूलाई काम गर्नका लागि पार्टीले आफ्नो विधानमा केही संशोधन गर्नु पर्ने भएमा सो समेत गरेर अनुकूलता सिर्जना गर्नु पर्छ। यस पटक पदाधिकारीमा दर्जिन पुगेका युवाहरूलाई विभिन्न वाहना देखाएर तर्किने छुट कुनै पनि हालतमा छैन। यसैले आफूलाई काम गरेर देखाउन वाधा विरोध गर्ने जे जस्ता नीति नियम छन् तिनलाई हटाएर पार्टीलाई देश र जनताको हितमा लगाउन ती युवाहरुमा कुनै कमी कमजोरी नदेखियोस् भन्ने सबैको चाहना छ।

सम्बन्धित समाचार