काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक नियुक्ति गर्न नसक्दा बजार अनुगमन ठप्प भएको छ । गत कात्तिक १४ गते नै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनिवार्य अवकाश पाएसँगै नेतृत्व विहीन हुन पुगेको हो । गौचनले अवकाश पाएसँगै रिक्त हुन पुगेको महानिर्देशक पदमा नियुक्तिका लागि केही सहसचिवले दौडधूप गरे पनि भरतपुर महानगरपालिकाका कार्यकारी प्रमुख नेत्र सुवेदी प्रयासलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उद्योग बाणिज्य मन्त्रालयमा काज सरुवा गरेको छ । गत हप्ता नै सुवेदीलाई उद्योग मन्त्रालय पठाइएको भए पनि मन्त्रालयले अहिलेसम्म महानिर्देशक नियुक्ति गर्न सकेको छैन । सुवेदीले मन्त्रालयमा हाजिर गरेको करिब एक हप्ता बितिसकेको छ ।
उनलाई महानिर्देशक बनाउनकै लागि मन्त्रालय सरुवा गरिएको बताइए पनि उद्योगमन्त्री मातृका यादवले उनलाई अहिलेसम्म जिम्मेवारी दिएका छैनन् । विभागमा महानिर्देशक नहुँदा कात्तिक १४ गतेदेखिनै बजार अनुगमन ठप्प जस्तै छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले बजार अनुगमनमा खटिएका अनुगमन अधिकारीले गरेको जरिवाना उपर उद्योगी तथा व्यापारीहरुले महानिर्देशक समक्ष मात्रै पुनरावलोकन निवेदन दिन सक्ने प्रावधान छ । महानिर्देशक नै नभएपछि हामी बजार अनुगमनमा निस्कन पाएका छैनौ, विभागका एक अधिकारीले भने । अहिले निमित्त महानिर्देशकको जिम्मेवारीमा उपसचिव नोखबहादुर बस्यालले जिम्मेवारी सम्हाल्दै आएका छन् । उता, १४ गते अवकाश पाएका गौचनले भने विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि दरखास्त हालेका छन् ।