काठमाडौं । मुलुककै ठूलो बाणिज्य बैंक ग्लोबल आइएमई बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्ने भएको छ । बैंकले महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालसंगको सहकार्यमा त्यस्ता उद्योगहरुलाई लगानी गर्ने भएको हो ।
महिलाहरूले सञ्चालन गरेको घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पुर्याउने उदेश्यले बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच समझदारी भएको हो । ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंह र अन्तर्राष्ट्रिय श्रम संगठन,नेपालका निर्देशक रिचार्ड होवार्डले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमासहज तथा सरलरुपमा वित्तीय पहुँच पुर्याउन संयुक्त रुपमा काम गर्नेछन् । बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बैंकको विश्वास छ ।