free website hit counter

माछापुच्छ्रे बैंकको लाभांश घट्यो, ६ प्रतिशत वितरण गर्ने प्रस्ताव

beemaadmin
२०८३ आश्विन ४, आईतवार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्तावित ६ प्रतिशत लाभांश पारित गर्न २८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।

Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Advertisement
Advertisement

बैंकको हाल कायम चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ रहेको छ। यसको ३ प्रतिशतले हुन आउने करिब ३६ करोड २५ लाख ८६ हजार रुपैयाँबराबरको बोनस सेयर तथा सोही रकमबराबरको नगद लाभांश वितरण गरिनेछ।

बोनस सेयर र नगद लाभांश गरी बैंकले सेयरधनीलाई कुल करिब ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेयरपछि चुक्तापुँजी बढ्ने

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी करिब १२ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ पुग्नेछ।

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेस गरिनेछ।

अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश

साधारणसभाले बैंकका अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिनेछ।

बैंकका सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको वित्तीय विवरण समेटिएको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ।

सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ।

त्यस्तै, रिक्त पदमा स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नुका साथै संस्थापक तथा सर्वसाधारण सेयरधनी समूहबाट बाँकी कार्यकालका लागि सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ।

प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य नियामक निकायबाट थपघट वा परिमार्जन गर्न निर्देशन आएमा त्यसअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

असोज १२ गते बुक क्लोज

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ।

यसअनुसार असोज ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसबेला ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिएको बैंकले यसपटक भने ६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

सम्बन्धित समाचार