free website hit counter

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिनुभयो ?

beemaadmin
२०७९ पुष १७, आईतवार

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने पुस १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने १० लाख कित्ता शेयरमध्ये कम्पनीले अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिकाको वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का बासिन्दाहरुका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेकका स्थाई वासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर वितरण हुनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले प्रबर्धन गरिरहेको १४।९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ भने आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७१ जेठ ६ गतेदेखि २१०६ जेठ २५ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ७।३८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७।१७ वर्ष रहेको छ।

सम्बन्धित समाचार