free website hit counter

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, खराब कर्जा भने उकालो

beemaadmin
२०८३ कार्तिक १७, सोमबार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४३.४४ प्रतिशतले बढाएको छ। ब्याज खर्च र कर्जा नोक्सानीबापतको खर्च घट्नुका साथै शुल्क तथा कमिसन आम्दानी बढ्दा बैंकको नाफामा सुधार आएको हो।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी एक वर्षको अवधिमा बैंकको खुद नाफा ९ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको छ।

Advertisement
Advertisement

नाफा वृद्धिसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १२ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ २४ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।

Advertisement
Advertisement

बैंकको खुद ब्याज आम्दानी भने २.७१ प्रतिशतले मात्रै बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी १०.२५ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। तर, ब्याज खर्च २०.९१ प्रतिशतले घटेर १ अर्ब १४ करोड ३ लाख रुपैयाँमा झरेको छ। कोषको लागतसमेत अघिल्लो वर्षको सोही अवधिको ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत कायम भएको छ। कुल ब्याज आम्दानी घटे पनि ब्याज खर्च अझ बढी दरले घट्दा खुद ब्याज आम्दानीमा सुधार देखिएको हो।

बैंकको नाफा वृद्धिमा कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च घट्नुले महत्वपूर्ण भूमिका खेलेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा उक्त शीर्षकमा ५४ करोड ११ लाख ६७ हजार रुपैयाँ खर्च गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५४ लाख ५४ हजार रुपैयाँ मात्रै खर्च लेखेको छ। यस्तो खर्च ७४.९७ प्रतिशत अर्थात् ४० करोड ५७ लाख रुपैयाँभन्दा बढीले घटेको हो।

तर, कर्जा नोक्सानीबापतको खर्च घटे पनि बैंकको खराब कर्जाको अनुपात भने बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.०३ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात यस वर्ष ४.७३ प्रतिशत पुगेको छ। खुद निष्क्रिय कर्जा अनुपात पनि १.३२ प्रतिशतबाट बढेर २.१९ प्रतिशत कायम भएको छ।

असोज मसान्तसम्म बैंकको सञ्चित वितरणयोग्य नाफा ६१ करोड ५६ लाख ६ हजार रुपैयाँ सकारात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ थियो। यसरी सञ्चित वितरणयोग्य नाफा वार्षिक तुलनामा ४९.७४ प्रतिशतले घटेको छ। प्रतिसेयर वितरणयोग्य नाफा पनि १५ रुपैयाँ ३१ पैसाबाट घटेर ७ रुपैयाँ ६९ पैसा कायम भएको छ।

चालु त्रैमासमा नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा भने ६ करोड १ लाख ५० हजार रुपैयाँ ऋणात्मक रहेको छ। आर्थिक वर्षको सुरुवातमा रहेको ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ सञ्चित रकमबाट उक्त घाटा समायोजन गर्दा असोज मसान्तमा ६१ करोड ५६ लाख रुपैयाँ बाँकी रहेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा भने नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा १२ करोड ९१ लाख ९८ हजार रुपैयाँ ऋणात्मक थियो।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप गत असार मसान्तको तुलनामा २.२० प्रतिशतले बढेर करिब १ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४.९४ प्रतिशतले बढेर करिब १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि २.२४ प्रतिशतले वृद्धि भई करिब १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

बैंकको आधार दर ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशतमा आएको छ भने ब्याजदर अन्तर ४.५९ प्रतिशतबाट घटेर ४.३८ प्रतिशत कायम भएको छ। बैंकको पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८४.०५ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार