एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाउने न्यायाधशिको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । पेशावर हाइकोर्टका मुख्य न्यायाधीश वकार अहमद सेठको ५९ वर्षको उमेरमा मृत्यु भएको पाकिस्तानी अखबार डनले जनाएको छ । न्यायाधशि सेठको इस्लामाबादको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
खैबर पख्तुनख्वा प्रान्तको दीखान जिल्लाका न्यायाधीश सेठको परिवारमा पत्नी र छोरी छन् । २२ अक्टोबरमा उनी कोरोना संक्रमित पाइएका थिए । त्यसपछि उनलाई पेशावरको एक अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई इस्लामाबादको कुलसुम इन्टरनेशनल अस्पतालमा सारिएको थियो । न्यायाधीश सेठले २०१८ को जूनमा पेशावर उच्च न्यायालयका मुख्य न्यायाधीशको रुपमा शपथ लिएका थिए ।
डिसेम्बर २०१९ मा उनले एक विशेष इजलासको अध्यक्षता गर्दै २००७ मा देशमा संकटकाल लागू गरेको विषयमा पूर्व राष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएका थिए । १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका परवेज मुशर्रफ पहिले सेना प्रमुख थिए । उनले १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई अपदस्थ गरेर शासनसत्ता हातमा लिएका थिए । मुशर्रफ २०१६ देखि दुबइमा बस्दै आएका छन् । उपचारको लागि भन्दै पाकिस्तान छाडेर गएका मुशर्रफ त्यसपछि फर्किएका छैनन् ।